उपभोक्ता ठगीको नियत : इरान संकटको बहानामा ग्यास व्यापारीद्वारा कृत्रिम अभाव सिर्जना

काठमाडौं : अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सिर्जित अन्तर्राष्ट्रिय परिस्थितिलाई पुँजी बनाउँदै नेपालका खाना पकाउने ग्यास व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी गर्न थालेका छन्। नियमित रूपमा ग्यास आपूर्ति गर्दै आएका वितरकहरूले एकाएक ग्यास नभएको, नयाँ ग्यास आउन १० देखि १५ दिन लाग्ने बहाना बनाउन थालेपछि उपभोक्ता मारमा परेका छन्।

चुनाव सम्पन्न भएर नयाँ सरकार गठन हुन नसकेको र पूर्ववर्ती सरकार प्रभावहीन बनेको अवस्थाको फाइदा उठाउँदै केही व्यापारीहरूले भण्डारणमा रहेको ग्यास लुकाएर बजारमा अभाव देखाउन थालेको उपभोक्ताको गुनासो छ। राजनीतिक संक्रमणकालको यो मौकामा केही व्यापारीहरूले आपूर्ति शृंखलामा अवरोध सिर्जना गरी कृत्रिम मूल्यवृद्धि र अभावको खेल खेल्न लागेको आरोप लागेको छ।

नेपाली बजारमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुँदा पनि व्यापारीहरूले ‘इरान संकटको असर’ भन्दै कृत्रिम त्रास फैलाएर भण्डारणमा रहेको ग्यास बजारमा नपठाई अभाव देखाएको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्। यसले आम उपभोक्तालाई सास्ती मात्र नभई नयाँ सरकारलाई समेत चुनौती दिने अभिप्राय देखिएको उनीहरूको भनाइ छ।

यसअघि पनि विभिन्न बहानामा ग्यास व्यापारीहरूले सरकारकै मिलेमतोमा यस्तो कृत्रिम अभाव सिर्जना गरेको इतिहास छ। तर अहिले जेनजीको नेतृत्वमा सरकार बन्ने तयारी भइरहेको बेला पनि यस्तो हर्कत देखिनुले “जुन जोगी आए पनि कान चिरेको” भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ। यसले नयाँ सरकारलाई बदनाम गर्ने र त्यसको कार्यक्षमतामाथि प्रश्न उठाउने षड्यन्त्र पनि हुनसक्ने आशंका गरिएको छ।

उपभोक्ताहरूले यसप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीलाई कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले भनेका छन्, ‘यो ठगी हो, सामान्य अभाव होइन। अन्तर्राष्ट्रिय संकटको बहानामा उपभोक्तालाई ठग्ने जो कोहीलाई पनि कडा भन्दा कडा कारबाही हुनुपर्छ।’

यस प्रकारको कृत्रिम अभाव र ठगीका गतिविधि नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग उपभोक्ता अधिकार संगठनहरूको छ। खाना पकाउने ग्यास जस्तो दैनिक उपभोग्य वस्तुमा हुने यस्तो खेलबाडले आम नागरिकको जीवनयापनमा पार्ने असरलाई हेरेर सरकारले कडा निगरानी र नियमन गर्न आवश्यक छ। कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठगी गर्ने जो कोहीलाई पनि कानुनअनुसार कडा सजायको माग उपभोक्तामाझ व्याप्त छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button