काभ्रेको पनौतीमा ‘भृकुटी’को जन्मघर र उद्यान बनाइँदै

राष्ट्रिय ‘विभूति’ ‘भृकुटी’को जन्मघर र उद्यान काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण गरिने भएको छ । यसका लागि पनौती नगरपालिका कार्यालयले सरोकारवाला निकायसँग छलफल र अन्तर्क्रिया थालेको छ ।
भृकुटी स्मृति प्रतिष्ठानका अनुसार भृकुटीको उद्यानसहितको जन्मघर खोपासीमा बन्न लागेको हो । उक्त भौतिक संरचना निर्माणका लागि जिल्लापस्थित सहरी विकास तथा भवन कार्यालय, पनौती नगर, भृकुटी प्रतिष्ठान र कृष्ण इन्जिनियरिङ एन्ड डिजाइन कन्सल्टेन्सीले संयुक्त रूपमा छलफल थालेका हुन् ।
प्रतिष्ठानका अध्यक्ष विश्व उलकका अनुसार मल्लकालीन सबैभन्दा पुरानो मन्दिरलाई आधार मानेर चालु आर्थिक वर्षभित्रै वुद्धको अनुयायीका रूपमा स्थापित भृकुटीको उद्यानसहितको जन्मघर निर्माण सुरु गरिनेछ ।
बाग्मती प्रदेश सरकारले चालु आवमा रु एक करोड विनियोजन गरेको जनाइएको छ। परामर्शदाता इन्जिनियर पारस महतले प्रस्तावित भवन निर्माणस्थल, भवनको स्वरुप र लागत तयार पारेका छन् ।उहाँका अनुसार भृकुटी जन्मघर निर्माणमा १३ करोड ३९ लाख र भृकुटी पार्क निर्माणमा ५ करोड २ लाख ४३ हजार लाग्ने अनुमान छ । दुवै आयोजना सम्पन्न गर्न करिब २६ करोड लाग्नेछ।
भृकुटीको जन्म विसं ६८१ (सन् ६२४) माघ १ गते मकर सङ्क्रान्तिको दिन राजा उदयदेव र रानी भद्रावतीको कोखबाट काभ्रेको खोपासीमा भएको विभिन्न अध्ययनले पुष्टि गरेको छ । नगरप्रमुख रामशरण भण्डारीले पनौतीको ऐतिहासिक तथा धार्मिक महत्वलाई पनौतीमै महासत्व बुद्धको जन्म भएको तथा पनौतीको खोपासीबाट भृकुटी बुद्धको विवाह भई तिब्बत पुगेर बौद्ध धर्मको प्रचारप्रसार भएको इतिहासले बढाएको बताउनुभयो। खोपासीमा भृकुटीको जन्मघर निर्माण हुँदा पनौतीमात्र नभई समग्र राष्ट्रकै हितमा रहने अपेक्षा गरिएको अनलाइनखबरले लेखेको छ।
CGTN





