पाहुनाको रोजाइमा छेडेदह ताल

बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडा नं ४ र ७ को बीचमा रहेको छेडेदह ताल यतिबेला पाहुनाको रोजाइमा पर्दै गएको छ। यसको चारैतिर अग्ला भूभाग र बीचमा समथल रहेको यो ताल हेर्दा जो कोहीको मन लोभिने गरेसँगै पछिल्लो समय यो ताल पाहुनाको रोजाइमा पर्ने थालेको गोरखापत्र अनलाइनले लेखेको छ।

यहाँ हिउँदको महिना तीर्थालुहरु आउने गर्छन् भने बर्खाको समयमा आन्तरिक तथा बाह्य पर्यटकहरु आएर रमाइलो गर्ने गर्छन्। त्यति मात्र होइन, यहाँका अधिकांश विद्यालय समूह क्लबहरुको पिकनिकका लागि पनि उपयुक्त स्थलको रुपमा रहेको छ। यहाँ पिकनिकसँगै तालको छेउछाउमा देउडा खेल्ने नाचगान गरेर रमाइलो गर्दै फोटा खिच्ने गरेको होटल व्यवसायी बिमल रावतले बताउनुभयो।

उहाँले भन्नुभयो, “पहिला यो ताल बारेमा खासै कसैलाई चाँसोको विषय जस्तो लाग्दैन थियो। पछिल्लो समय यो तालको छेउमा सडक सुचारु भएसँगै धेरैको आउजाउ हुन थालेपछि अहिले यहाँ बाहिरदेखि समेत पर्यटक आउने गरेका छन्।”

यो ताललाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै जाने हो भने यहाँ आउने गरेको आन्तरिक तथा बाह्य पर्यटकबाट नै यहाँका स्थानीयहरुको आर्थिक अवस्था परिवर्तन हुन सक्ने रावतले बताउनुभयो। बाजुराको बडिमालिका, कालाजाग्रा, बुढीनन्दा र रानीसैन जस्तै यो ताल पनि एक पर्यटकीय स्थलको रुपमा रहेको छ। तर पनि यसलाई अहिलेसम्म राम्रोसँग व्यवस्थित गर्न सकिएको छैन।

यो झण्डै एक हजार भन्दाबढी रोपनी जमिन सम्म फैलिएको छ। यसको चारै तिर अग्लो भुभाग र बीचमा समथल रहेकोले यो तालमा पानी कहिल्यै पनि सुक्दैन। वर्खाको समय आकाशको पानी जम्मा हुने भएकोले ताल ठुलो र हिउँदमा अली सानो हुने गर्छ।

ताल कति गहिरो छ भन्ने कुरा अँझै पत्ता लागेको छैन्। यसको लम्बाई चौडाई अन्दाजी एक हजार रोपनी सम्म फैलिएको हुन सक्ने सम्भावना भएपनि यसको गहिराई भने एकिन नभएको रावतले बताउनुभयो।

प्रकृतिको एक उपहारको रुपमा रहेको यो ताल पहिला देखि नै संरक्षणको परखाईमा छ। पछिल्लो समय पालिकाले प्रत्येक वर्षमा थोरै भएपनि रकम लगानी गर्दै आएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले बताउनुभयो।

उहाँले भन्नुभयो, “यो ताल अलि विवादका कारण बाहिर देखि रकम ल्याउन समस्या भएको छ। साबिकका गुदुखाती –९ खाती गाउँ र आटिचौर –१ लम्गाउँ बीचमा रहेको यो ताल स्थानीयले पहिला देखि आ–आफने क्षेत्रमा परेको भन्दै अडान लिन थालेका छन्।”

यहाँका स्थानीयले चाँसो देखाएको छैन्। उनीहरुले यो ताललाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्नु पर्छ भन्ने सोच बनाएपछि यसको विवाद हट्छ। त्यसपछि यो तालको संरक्षण प्रवद्धन गर्ने काम अघि बढ्छ। त्यसपछि यहाँका स्थानीयको आर्थिक अवस्थालाई टेवा पुग्ने यसलाई संरक्षण तथा प्रवर्धन कार्यलाई अघि बढाउने योजना रहेको अध्यक्ष रावतले बताउनुभयो।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button