उच्चस्तरीय राजनीतिक भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइ लिने

नेपाल र चीनबीच व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन, शिक्षा, कृषि, स्वास्थ्य र प्रविधिको क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताउँदै विज्ञहरुले भविष्यमा यी क्षेत्रमा थप सहकार्य गर्न सकिने औंल्याएका छन्।
बेइजिङस्थित नेपाली दूतावास र चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीज (सीआईआईएस)द्वारा डिसेम्बर २३ तारिख मङ्गलबार संयुक्त रुपमा आयोजना गरिएको नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवः ‘समीक्षा तथा सम्भावना’ विषयक विचार गोष्ठीमा नेपाल र चिनियाँ विज्ञहरुले आर्थिक, राजनीतिक, सामाजिक, ऐतिहासिक र सांस्कृतिक माध्यमबाट नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने विभिन्न माध्यमबारे प्रकाश पारेका गोरखापत्र अनलाइनले लेखेको छ। विज्ञहरुले दुई देशबिचको सम्बन्ध आपसी सम्मान, अहस्तक्षेप, समानता, जनस्तरीय सम्बन्ध, व्यवहारिक सहयोग, लगानी तथा व्यापार उच्चस्तरीय भ्रमणलगायतबाट बलियो बन्दै गएको चर्चा पनि गरेका थिए।
नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले ऐतिहासिक कालदेखि नेपाल र चीनबिच घनिष्ठ सम्बन्ध रहदै आएको बताउँदै दुई देशबिच व्यापार, लगानी, ऊर्जा, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र जनस्तरीय सम्बन्धले विकासका क्षेत्रमा सहयोग पुर्याएको बताउनुभयो। उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहदै आएको बताउँदै पछिल्लो समय दुबै देशबाट भएका उच्चस्तरीय राजनीतिक भ्रमणले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गर्नुभयो। बीआरआई फ्रेमवर्कमा हस्ताक्षरपछि आपसी सम्बन्धको नयाँ चरण सुरु भएको बताउँदै कार्यवाहक राजदूत खनालले प्रमुख व्यापारिक साझेदारका रूपमा चीनले नेपाली वस्तुका लागि निःशुल्क भन्सार सुविधा दिएको भन्दै चीनले नेपाल भ्रमण वर्ष २०२५ मनाइरहेको बताउनुभयो।
सीआईआईएसका उपाध्यक्ष लिउ छिङले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई बहुआयामिक सम्बन्धको प्रमुख विशेषताको रूपमा स्पष्ट पार्दै पछिल्लो समयमा उच्चस्तरीय राजनीतिक भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ उचाइ थपेको बताउनुभयो। उहाँले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवधिमा भएका सहमतिहरूको कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपालको दोस्रो ठुलो व्यापारिक साझेदारका रूपमा चीनले नेपालसँग सीमापार कनेक्टिभिटीमार्फत् साझा फाइदाको अवधारणा अघि सारेको पनि बताउनुभयो।
CGTN





