हरियो तरकारीमा शतप्रतिशतसम्म विषादी

कालीमाटी तरकारी बजारमा डिसेम्बर २३ तारिख मङ्गलबार थोकमा बेच्न ल्याइएको रायोको सागमा झन्डै शतप्रतिशत नै विषादी रहेको पाइयो। यो रिपोर्ट आधाभन्दा बढी विषाक्त साग उपभोक्ताको भान्सामा पुगेपछि आएको हो। विषाक्त साग खाइसकेपछि समितिले सूचना सार्वजनिक गरेपछि सञ्चार माध्यममा समाचार बनेको गोरखापत्र अनलाइनले लेखेको छ। यो मङ्गलबारको मात्र नियति होइन, सधैँको हो। कालीमाटी तरकारी बजारमा सामान्यतः बिहान ३ बजेदेखि ४ बजेका बिचमा ताजा तरकारी आइपुग्छ र ४:३० देखि ७ बजेभित्र थोकमा बिक्री भई सबै तरकारी स्थानीय बजार, खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसक्छ।
तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको एकाइले बिक्री भएर बचेको रायोको नमुना झन्डै ६ बजे लिएर परीक्षण गर्दा ९९.०८० प्रतिशत विषाक्त रहेको प्रतिवेदन ६:३० बजेतिर समितिलाई दियो। अरू दिनकै जस्तो घटना मङ्गलबार पनि दोहोरिएको मात्र हो।
प्रतिवेदन अनुसार काठमाडौँ नागार्जुन नगरपालिकाको रामकोटका कृषक/व्यापारी उत्तम रेग्मीले बेच्न ल्याएको रायो सागमा अर्गानोफस्फेट नामको विषादीको रोकावट दर ९९.०८० प्रतिशत भेटिएको थियो। यो भनेको शतप्रतिशत जस्तै हो।
उक्त विषादीको त्यो मात्रा तरकारी उपभोग गर्न अयोग्य मानिन्छ। उक्त विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी भए खान हुँदैन। प्रयोगशालाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमक्ष बिहान ६:३० बजे रिपोर्ट दिएपछि समितिका सुरक्षागार्डसहित तरकारी स्टलमा ८:३० बजे पुग्दा धेरै जसो विषाक्त साग उपभोक्ताको भान्सा पाक्ने समय भइसकेको थियो। बचेको करिब ४० केजी साग मात्र समितिले नष्ट गरेको थियो।
तरकारी भान्सामा पुर्याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन। कालीमाटीमा मात्र होइन, केन्द्रीय प्रयोगशाला अन्तर्गतका सबै प्रयोगशालाको परीक्षण शैली यस्तै रहेको स्वयम् प्रयोगशालामा कार्यरत कर्मचारी र सरोकारवाला स्विकार्छन्। कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार राति ३/४ बजेदेखि स्थानीय बजारमा जान्छ। प्रयोगशालाका कर्मचारी ६/७ बजे आएर रहलपहलको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिन्छन् जसको केही अर्थ हुँदैन।
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले प्रयोगशालामा काम गर्ने कर्मचारीको सुरक्षाको सुनिश्चित नभएकाले स्थानीय बजारमा जानुअघि प्रयोगशाला सञ्चालन गर्न सम्भव नभएको बताउनुभयो। उक्त एकाइमा खटिने दुई जना कर्मचारीले राति आएका नमुना लिएर परीक्षणमा खटिँदा जिउज्यानको सुरक्षा गर्ने सुनिश्चित गरेमा काम लगाउन सकिने उहाँको भनाइ छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. प्रद्युम्नराज पाण्डेले रातिदेखि प्रयोगशाला सञ्चालन भएमा रिपोर्टमा खराबदेखि तरकारी नष्ट गर्न समिति तयार रहेको जानकारी दिनुभयो।
प्रयोगशालामा काम गर्ने महिला कर्मचारी भएकाले सुरक्षामा केही चुनौती भने हुन सक्ने उहाँको भनाइ छ। कार्यकारी निर्देशक पाण्डेले प्रयोगशालाले खान अयोग्य भनेको तरकारी रिपोर्ट आउनेबित्तिकै नियन्त्रणमा लिएर नष्ट गर्ने गरेको दाबी गर्नुभयो। उहाँका अनुसार कुन प्रदेश र जिल्लाबाट आएको तरकारीमा समस्या देखिएको हो त्यसको कारबाहीका लागि सम्बन्धित प्रदेशमा रहेको पालिकामा पत्राचार गर्ने गरिएको छ।
मङ्गलबार विषादीको समस्याका देखिएको काठमाडौँ नागार्जुन नगरपालिका रामकोटका कृषक र फार्मको अनुगमन गरी कारबाहीका लागि पत्राचार गरेको उहाँको भनाइ छ। नागार्जुन नगरपालिकाका प्रवक्ता महेश रिजालले कालीमाटी समितिको पत्र आएपछि कानुनी प्रक्रियामा जाने बताउनुभयो।
सरकारले तरकारीमा विषादीको अवशेषबारे मापदण्ड निर्धारण गरेको छ। जस अनुसार ३५ प्रतिशतसम्म विषादीको अवशेष देखिए उपभोग गर्न मिल्छ।
यसै गरी ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिनलाई राखेर उपभोग गर्न मिल्छ। ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखियो भने खान नहुने अर्थात् नष्ट गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
CGTN





