२४ भाद्र २०८३, बुधबार

विप्लव पनि अब ओलीकै लाइनमा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले सुशीला कार्की नेतृत्वको सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठनको माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

विप्लवसहित माओवादी नेताहरूको टोलीले आज शीतल निवास पुगेर ज्ञापन पत्र बुझाएको हो । १३ बुँदे पत्रमा १० दिनभित्र माग पूरा नभए सडक संघर्षमा उत्रिने चेतावनी दिइएको छ ।

कार्की नेतृत्वमा सरकार बन्दै गर्दा आफूहरूले दिएको सुझावलाई बेवास्ता गरिएको र अहिले सोही कारण जनतामा असन्तुष्टि चर्किएको माओवादीको ठहर छ । संविधान पुनर्लेखनको माग गर्दै पत्रमा भनिएको छ, ‘नयाँ संविधान अनुरुपमको राज्य पुनःसंरचना गर्नुपर्छ, र राज्य पुनःसंरचना गर्दा अग्राधिकारसहितको समाजवादी संघीय ढाँचामा गरिनुपर्छ ।’

भदौ २३ र २४ गतेको घटनामा निष्पक्ष छानविनको माग गरेको माओवादीले विभिन्न भ्रष्टाचारका काण्डमाथि अनुसन्धान गर्न उच्चस्तरीय नागरिक आयोगको गठनको माग पनि अघि सारेको छ । शक्तिशाली न्यायालयको गठन मागसहित अघि भनेको छ, ‘गैरकानुनी तरिकाले आर्जन गरेको कालो धनलाई राज्यको माताहत ल्याउन पाँच सय र हजारको नोट खारेज गरी नयाँ नोट प्रचलनमा ल्याउनुपर्छ ।’

विप्लवको यो माग नेकपा एमालेसँग मिलेको छ । एमाले अध्यक्ष केपी ओलीले पनि कार्की नेतृत्वको सरकार फालेर सर्वपक्षीय सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button