बालेनसँग रवि फेरि बस्ने, कुपण्डोल पुगे बाबुराम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच आजै अर्को भेटवार्ता हुने भएको छ ।
कुपण्डोलस्थित कुमार बेनको घरमा दिउँसो साढे दुई घण्टा लामो छलफल गरेका उनीहरू साँझ फेरि वार्तामा बस्ने भएका हुन् । गत सोमबार मध्यराती झण्डै ६ घण्टा संवाद गरेका रवि र बालेनबीच आज निर्णायक वार्ता हुने भनिएको थियो । तर, आजको छलफलमा ठोस सहमति नजुटेको बताइएको छ ।
सामान्यतया यस्ता भेटवार्ता र बैठकपछि खुलेर प्रतिक्रिया जनाउने रवि कुपण्डोलबाट बाहिरिंदै गर्दा खासै बोलेनन् । छलफल कस्तो भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उल्टै ‘मेरो अनुहारले के बताइरहेको छ ?’ भनेर प्रतिप्रश्न गरेका थिए ।
दुई जनाबीच केही विषयमा अझै सहमति भइनसकेको र आफ्नो समूहमा थप छलफल गरेर अन्तिम निर्णय गर्ने भन्दै रवि कुपण्डोलबाट बाहिरिएको बुझिएको छ । उनले आफू निकटका नेताहरूसँग छलफल गरेर पुनः साँझ बालेनसँग भेट गर्न लागेको बताइन्छ ।
पुराना पार्टीका असन्तुष्ट नेता, अभियन्ता, कलाकार लगायत विभिन्न क्षेत्रका भाइरल अनुहारलाई समेटेर वैकल्पिक शक्ति निर्माणमा जुटेका बालेन हिजोदेखि भेटघाटमा व्यस्त छन् ।
हिजो डाक्टर भगवान कोइराला, पूर्वसचिवभीम उपाध्याय, राप्रपा नेता ज्ञानबहादुर शाही लगायतसँग भेटेका उनले आज उज्यालो नेपालका नेता कुलमान घिसिङ, जेनजी अगुवा भनिने ३७ वर्षे सुदन गुरुङ, काँग्रेस नेता सुनिल शर्मा, पूर्वकाँग्रेसी तथा विघटित प्रतिनिधिसभाका सांसद अमरेश कुमारसिंह लगायतसँग भेटेका थिए ।
बिहानैदेखि एकपछि अर्को राजनीतिक भेटघाट गरिरहेका बालेनलाई भेट्न अहिले डाक्टर बाबुराम भट्टराई पनि कुपण्डोल पुगेका छन् ।
Jana Aastha





