माओ त्से-तुङ जन्मदिवस: विचार र विरासतको स्मरण

काठमाडौं, पुष ११। आज विश्व सर्वहारा वर्गका महान नेता, चिनियाँ क्रान्तिका प्रणेता र चीनको कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से-तुङको १३०औं जन्मजयन्ती पुगेको छ। उहाँको जन्म सन १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको शाओशान गाउँमा भएको थियो।
माओ त्से-तुङको जीवन र विचारले चीनलाई एक अर्ध-सामन्ती र अर्ध-उपनिवेशवादी देशबाट एक स्वतन्त्र समाजवादी राष्ट्रको रूपमा परिणत गर्न ऐतिहासिक भूमिका निर्वाह गर्नुभयाे। उहाँले मार्क्सवाद-लेनिनवादलाई चिनियाँ परिस्थितिमा रचनात्मक रूपमा लागू गर्दै दीर्घकालीन क्रान्तिकारी संघर्षको मार्गदर्शन गर्नुभयो।
माओवादी विचारधाराले विश्वभरिका राष्ट्रिय स्वाधीनता आन्दोलनहरूमा गहिरो प्रभाव पारेको छ। नेपाली कम्युनिस्ट आन्दोलनको विकासक्रममा पनि माओवादी विचारले महत्त्वपूर्ण भूमिका खेलेको छ। विद्वान तथा नेपाली कम्युनिस्ट पार्टीका नेता देब गुरुङको भनाइ अनुसार, “माओवादको आधार मार्क्सवाद-लेनिनवाद नै हो। आजको २१औं शताब्दीको साम्राज्यवादी युगको वर्गीय विश्लेषण गरी राष्ट्रिय स्वाधीनता आन्दोलनलाई सुसंगठित गर्न सकिने खण्डमा नै माओवादको सार्थक प्रयोग हुनेछ।”
उहाँको विचारले आर्थिक स्वावलम्बन र राष्ट्रिय पूँजी निर्माणमार्फत समाजवादी क्रान्तिको मार्ग प्रशस्त गर्ने रणनीतिलाई समेटेको छ। यसै कारण विश्वका उत्पीडित राष्ट्रहरूका लागि माओ त्से-तुङको विचार आज पनि प्रासंगिक रहेको छ।
माओ त्से-तुङको निधन सन १९७६ सेप्टेम्बर ९ मा ८३ वर्षको उमेरमा बेइजिङमा भएको थियो। तापनि उहाँको क्रान्तिकारी विरासत र वैचारिक योगदान चीन र विश्वभरका प्रगतिशील शक्तिहरूका लागि मार्गदर्शक स्रोत बनेर रहेको छ।
यस अवसरमा विश्वभरका प्रगतिशील व्यक्ति र संगठनहरूले माओ त्से-तुङको जीवन, संघर्ष र विचारबाट प्रेरणा लिई वर्तमान चुनौतीहरू सामना गर्न आह्वान गरेका छन्।





