माओ त्से–तुङको १३०औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । विश्व सर्वहारा वर्गका महान नेता, चिनियाँ क्रान्तिका प्रणेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख संस्थापक नेतामध्ये एक माओ त्से–तुङको १३०औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्षद्वारा जारी श्रद्धाञ्जली सन्देशमा माओ त्से–तुङले चीनलाई अर्ध–सामन्ती र अर्ध–उपनिवेशवादी अवस्थाबाट मुक्त गर्दै समाजवादी राष्ट्र निर्माणतर्फ ऐतिहासिक नेतृत्व प्रदान गरेको उल्लेख गरिएको छ। सन्देशमा माओको जीवन, संघर्ष र विचारले मार्क्सवाद–लेनिनवादलाई चिनियाँ यथार्थसँग सृजनात्मक रूपमा जोडेर नयाँ उचाइमा विकास गरेको बताइएको छ।
सन्देशअनुसार माओवादी विचारधाराले चीनमा मात्र सीमित नरही विश्वभरिका राष्ट्रिय स्वाधीनता र जनमुक्ति आन्दोलनहरूमा गहिरो प्रभाव पारेको छ। नेपालसहित विभिन्न देशका कम्युनिस्ट आन्दोलनहरूले पनि माओ त्से–तुङका विचारबाट वैचारिक प्रेरणा प्राप्त गरेको उल्लेख गरिएको छ।
सन्देशअनुसार माओवादी विचारधाराले चीनमा मात्र सीमित नरही विश्वभरिका राष्ट्रिय स्वाधीनता र जनमुक्ति आन्दोलनहरूमा गहिरो प्रभाव पारेको छ। नेपालसहित विभिन्न देशका कम्युनिस्ट आन्दोलनहरूले पनि माओ त्से–तुङका विचारबाट वैचारिक प्रेरणा प्राप्त गरेको उल्लेख गरिएको छ।
माओ त्से–तुङका आर्थिक स्वावलम्बन, जनवादी क्रान्ति र सामाजिक परिवर्तनसम्बन्धी सिद्धान्तहरूले एशिया तथा तेस्रो विश्वका देशहरूको विकास मार्गमा महत्वपूर्ण योगदान पुर्याएको सन्देशमा जनाइएको छ। ती सिद्धान्तहरूले आत्मनिर्भरता र जनकेन्द्रित विकासको अवधारणालाई अघि बढाएको उल्लेख छ।
जन्मजयन्तीको स्मरणीय अवसरमा विश्वका शोषित र पीडित जनताको मुक्तिका लागि माओ त्से–तुङले पुर्याएको योगदानलाई स्मरण गर्नु अत्यन्तै महत्वपूर्ण रहेको सन्देशमा भनिएको छ। उहाँको क्रान्तिकारी विरासत आज पनि विश्वभरिका प्रगतिशील शक्तिहरूका लागि अध्ययन र प्रेरणाको विषय बनेको उल्लेख गरिएको छ।
सन्देशको अन्त्यमा माओ त्से–तुङको क्रान्तिकारी विरासत सधैँ प्रेरणाको स्रोत रहिरहोस् भन्ने कामना व्यक्त गर्दै “माओ त्से–तुङ अमर रहून्, क्रान्तिकारी विचार सधैँ जीवित रहोस्” भन्ने उद्घोष गरिएको छ।





