युक्रेनबारे गलत तथ्य प्रस्तुत गरिएको भन्दै इन्डोनेसियाली पत्रिकालाई रूसी राजदूतको पत्र

जकार्ता । इन्डोनेसियाका लागि रूसका राजदूत सेर्गेई तोल्चेनोभले द इन्डिपेन्डेन्ट अब्जर्भर पत्रिकाका प्रधान सम्पादकलाई पत्र लेख्दै युक्रेनसम्बन्धी समाचारमा गम्भीर त्रुटि रहेको उल्लेख गरेका छन्। डिसेम्बर १२–१८, २०२५ को अंकमा प्रकाशित तमालिया अलिस्जाहबानाको “Indonesia and Ukraine United by Music” शीर्षकको लेखमा युक्रेनको अवस्थाबारे गलत विवरण समावेश गरिएको उनको भनाइ छ।

राजदूत तोल्चेनोभका अनुसार लेखमा उल्लेख गरिएको “रूसद्वारा ४० हजार युक्रेनी बालबालिका अपहरण गरिएको” दाबी वास्तविकतासँग मेल नखाने छ। युक्रेनी पक्षले प्रस्तुत गरेको सूचीमा उल्लेखित धेरै बालबालिका कहिल्यै पनि रूसी संघको भूमिमा नगएको र त्यस सूचीमा ५० जना वयस्कसमेत समावेश रहेको तथ्य अडिटबाट खुलेको उनले बताएका छन्। उनले कानुनी अभिभावक पहिचान भएसँगै ती बालबालिकालाई तुरुन्त परिवारसँग पुनर्मिलन गराइने स्पष्ट पार्दै यसलाई रूसका लागि “सम्मानको विषय” भएको उल्लेख गरेका छन्।

पत्रमा पश्चिमी मुलुकका प्रतिनिधिहरूले “युक्रेनी बालबालिकाको निर्वासन” भन्ने विषयलाई राजनीतिक रूपमा उठाइरहँदा ग्लोबल मेजोरिटी र ग्लोबल साउथका प्रतिनिधिहरूले भने बालबालिकालाई राजनीतिक अनुमान र प्रचारको विषय नबनाउन आग्रह गरेको कुरा स्मरण गराइएको छ। उनीहरूले मान्य राजनीतिक र कूटनीतिक माध्यममार्फत समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरेको जनाइएको छ।

राजदूत तोल्चेनोभले डिसेम्बर ३, २०२५ मा संयुक्त राष्ट्रसंघ महासभाको ११औँ आपतकालीन विशेष सत्रमा पेश गरिएको “Return of Ukrainian Children” प्रस्तावबारे पनि उल्लेख गरेका छन्। उनका अनुसार १९३ सदस्य राष्ट्रमध्ये १०२ देशले उक्त प्रस्तावलाई कुनै पनि रूपमा समर्थन नगरेको तथ्यले अन्तर्राष्ट्रिय समुदायको धारणा स्पष्ट देखाएको छ।

डिसेम्बर ५ मा जकार्तामा आयोजना गरिएको तथाकथित “च्यारिटी कार्यक्रम” को कथानकले रूसमाथि दोष थोपर्ने आयोजकहरूको मनसाय उजागर गरेको पनि पत्रमा भनिएको छ। उक्त कार्यक्रममा लगाइएका आरोपलाई पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत नगरिएको र युरोप लगिएका हजारौँ युक्रेनी नाबालकहरू परिवारसँग सम्पर्कविहीन भएको विषयमा भने एक शब्द पनि नबोलिएको आरोप लगाइएको छ।

युरोपेली तथा नाटो मुलुकहरूले आफ्ना स्वार्थपूर्ण राजनीतिक एजेन्डा पूरा गर्न युक्रेनी संकटलाई लामो समयसम्म कायम राख्न खोजिरहेको प्रयास अपेक्षितअनुसार सफल नभएको राजदूतको टिप्पणी छ। तथापि, रूसले परिवार पुनर्मिलनका लागि निरन्तर र इमानदार प्रयास जारी राखेको र अन्तर्राष्ट्रिय मध्यस्थकर्तासँग रचनात्मक सहकार्य गर्न तयार रहेको उनले पुनः दोहोर्‍याएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button