प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिर जमानीमा रिहा

काठमाडौँ । देवी भट्टचन र कुसुम लामासँग सम्बन्धित आर्थिक तथा आपराधिक विवादमा मुछिएर हप्तौँदेखि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को हिरासतमा रहेका प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) अशोक शेरचन हाजिर जमानीमा रिहा भएका छन्।

उच्च सरकारी वकिलको कार्यालयले अनुसन्धानको वर्तमान चरणमा शेरचनसहितको टोलीलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो। यससँगै उनीमाथि जारी बयान प्रक्रिया औपचारिक रूपमा सकिएको छैन भने अनुसन्धान निरन्तर रहने जनाइएको छ।

यसअघि गत हप्ता उच्च अदालत पाटनका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र गीताप्रसाद तिम्सिनाको संयुक्त इजलासले अन्तिम पटकका लागि पाँच दिनभित्र बयान सक्ने शर्तसहित म्याद थपको अनुमति दिएको थियो। सो आदेशअनुसार सीआईबीले बयान तथा कागजात संकलनको प्रक्रिया अघि बढाएको थियो।

आज भने देवी भट्टचनलाई रिहा गर्दा अपनाइएको प्रक्रिया जस्तै शैलीमा अशोक शेरचनसहितका व्यक्ति सरकारी वकिलको कार्यालयबाटै हाजिर जमानीमा छुटेका हुन्। स्रोतका अनुसार, रिहाइ सम्बन्धी कागजात मिलाउन शेरचनसहित मणीराम भुसाल, रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यलाई सीआईबी मुख्यालय लगिएको थियो, जहाँ आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई छाडिएको हो।

देवी भट्टचन र कुसुम लामासँग जोडिएको यस प्रकरणमा बैंकिङ कारोबार, आर्थिक लेनदेन तथा सम्भावित संगठित अनियमितताका विषयमा अनुसन्धान भइरहेको छ। सोही क्रममा प्रभु बैंकका सिइओ शेरचनको नाम जोडिएपछि उनीमाथि सोधपुछका लागि सीआईबीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धान निकायका अधिकारीहरूका अनुसार, यो रिहाइले मुद्दा अन्त्य भएको अर्थ नलाग्ने स्पष्ट गरिएको छ। आवश्यक परे पुनः बयानका लागि बोलाउन सकिने तथा अनुसन्धान प्रतिवेदनका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्न सक्ने सम्भावना कायमै रहेको जनाइएको छ।

नेपालको प्रमुख वाणिज्य बैंकमध्ये एक प्रभु बैंकका सिइओ नै अनुसन्धानको दायरामा परेपछि बैंकिङ क्षेत्र र नियामक निकायहरूमा समेत गम्भीर चासो देखिएको थियो। हाजिर जमानीमा रिहा भएसँगै तत्कालका लागि व्यवस्थापकीय अन्योल कम भए पनि प्रकरणको अन्तिम निष्कर्ष नआएसम्म विषयले बैंकिङ क्षेत्रमा प्रभाव पारिरहने देखिन्छ।

उच्च सरकारी वकिलको कार्यालय तथा सीआईबीले यस प्रकरणमा थप अनुसन्धान जारी रहने र आवश्यक प्रमाणका आधारमा कानुनी निर्णय लिइने स्पष्ट पारेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button