युक्रेन युद्ध अन्त्यको खाका तयार पार्ने प्रयास
जेलेन्स्की–ट्रम्प वार्ता र युद्धविरामको प्रस्ताव

किभ/वासिङ्टन — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग जारी युद्ध अन्त्यका लागि नयाँ राजनीतिक पहल अघि सारेका छन्। अमेरिकी समाचार संस्था Axios का अनुसार जेलेन्स्कीले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आइतबार युद्ध अन्त्यसम्बन्धी समग्र रूपरेखामा सहमति जुटाउने अपेक्षा गरेका छन्। यसका साथै रूसले ६० दिनको युद्धविराम स्वीकार गरेमा उक्त प्रस्तावलाई युक्रेनमा जनमतसंग्रहमा लैजान आफू तयार रहेको संकेतसमेत दिएका छन्।
Axios ले जनाएअनुसार जेलेन्स्कीले युद्ध अन्त्यको ढाँचा (framework), सम्भावित समयरेखा र राजनीतिक प्रक्रिया तय गर्ने विषयमा ट्रम्पसँग प्रत्यक्ष संवाद आवश्यक भइसकेको बताएका छन्। “हामी अहिले नयाँ स्तरमा पुगेका छौँ। त्यसैले अब राष्ट्रपतिस्तरमै वार्ता गर्न आवश्यक छ। हामी यो युद्ध सकेसम्म छिटो अन्त्य गर्न चाहन्छौँ। म यो भेटघाटको प्रतीक्षामा छु,” जेलेन्स्कीको भनाइ उद्धृत गरिएको छ।
समाचारमा उल्लेख भएअनुसार जेलेन्स्की र ट्रम्पबीच शनिबार (भोलि) अनलाइन संवाद हुने तय भएको छ। उक्त कन्फरेन्स कलमा युक्रेन र अमेरिकासँगै केही युरोपेली देशका शीर्ष नेताहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ। एक युक्रेनी अधिकारीलाई उद्धृत गर्दै Axios ले लेखेको छ कि यो बहुपक्षीय वार्ताको उद्देश्य हालसम्मका वार्ताको प्रगति सबै पक्षलाई जानकारी गराउनु हो।
जेलेन्स्कीले आइतबार हुने सम्भावित बैठकलाई युद्ध अन्त्यतर्फको निर्णायक चरणका रूपमा हेरेका छन्। उनले ट्रम्पसँगको छलफलमार्फत युरोपेली नेताहरूसँग पनि प्रत्यक्ष समन्वय र सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरेका छन्। “हामी ट्रम्पसँगै युरोपेलीहरूसँग सम्पर्क स्थापित गर्न चाहन्छौँ,” उनले भनेका छन्।
युद्धविराम र जनमतसंग्रहको प्रस्तावले युक्रेनको आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ बहस सुरु गराएको छ। ६० दिनको युद्धविराम रूसले स्वीकार गर्ने वा नगर्ने विषय अझै अनिश्चित छ। तर जेलेन्स्कीको यो पहलले युक्रेन युद्ध कूटनीतिक समाधानतर्फ मोडिन सक्ने सम्भावनाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ।
यद्यपि युद्ध तुरुन्तै अन्त्य हुने दाबीलाई लिएर विभिन्न पक्षबाट शंका र प्रश्नसमेत उठिरहेका छन्। आइतबारको सम्भावित वार्ता र त्यसपछिका निर्णयहरूले युक्रेन युद्धको भविष्य कुन दिशामा जाने हो भन्ने कुरा स्पष्ट हुने अपेक्षा गरिएको छ।





