मलेशियाका भूतपूर्व प्रधानमन्त्रीलाई १५ वर्ष कैद, अर्बौं रुपैयाँ जरिवाना

काठमाडौँ, । मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाकलाई १मलेशिया डेभलपमेन्ट बेरहाद (१एमडीबी) घोटालासम्बन्धी मुद्दामा शक्ति दुरुपयोगको चार आरोपमा देशको उच्च अदालतले १५ वर्ष कारावासको सजाय सुनाएको छ।
अदालतले उनलाई ११.४ अर्ब रिङ्गिट (२.८२ अर्ब अमेरिकी डलर) जरिवाना पनि लगाएको छ जुन आरोपमा संलग्न रकमभन्दा पाँच गुणा बढी हो।
यसैसाथ २१ वटा अतिरिक्त धनशोधन सम्बन्धी आरोपमा प्रत्येकको लागि पाँच–पाँच वर्ष कैदको सजाय सुनाइएको छ, तर धनशोधन आरोपमा कुनै जरिवाना लगाइएको छैन।
मुख्य न्यायाधीश कोलिन लरेन्स सेकेराहले सबै कैद सजायहरू एकैपटक सँगै चल्ने आदेश दिएका छन्।
नजिबलाई यसभन्दा पहिले सन् २०२० जुलाईमा १एमडीबीको सहायक कम्पनी एसआरसी इन्टरनेसनलसँग सम्बन्धित शक्ति दुरुपयोगको आरोपमा १२ वर्ष कैद र २१ करोड रिङ्गिट (४.४४ करोड डलर) जरिवाना सुनाइएको थियो।
गत वर्ष फेब्रुअरीमा उनको सजाय १२ वर्षबाट घटाएर ६ वर्ष र जरिवाना ५ करोड रिङ्गिट (१.०६ करोड डलर) पुर्याइएको थियो।
१एमडीबी घोटाला विश्वभर चर्चित भएको घोटाला हो जसमा अरबौं डलरको रकम गायब भएको आरोप छ। यस मुद्दाले मलेशियाको राजनीतिमा ठूलो उथलपुथल मच्चाएको थियो।





