रवि र बालेनको मिलनप्रति कुलमान असन्तुष्ट, शंकर आक्रमक

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीचको एकतालाई ‘दोस्रो चरणको षड्यन्त्र’ भनेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र बालेनले आज बिहानपख सात बुँदे सम्झौता गरेका थिए । उक्त सम्झौतालाई शंकरले षड्यन्त्रको संज्ञा दिएका हुन् । भदौ २३ र २४ गतेको जेनजी घटनालाई ‘पहिलो षड्यन्त्र’ भन्दै उनले त्यसैको निरन्तरतास्वरूप रवि र बालेन मिलेको दाबी गरे ।

हिंसात्मक विद्रोहको योजनाकार को-को थिए भन्ने कुरा यसले थप प्रमाणित गरेको शंकरको टिप्पणी छ । ‘भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो, यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ’, उनले भनेका छन्, ‘भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो, अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि शुरु हुँदैछ ।’

मुलुकलाई भूराजनीतिक द्वन्द्वबाट मुक्त गर्न देशभक्त शक्तिहरु गोलबन्द हुनुपर्नेमा पनि शंकरले जोड दिएका छन् । ‘यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ’, उनले भने ।

उता कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीले पनि रवि र बालेनको एकताप्रति असन्तुष्टि जनाएको छ । दुई व्यक्ति मिल्दैमा जेनजीको माग र चाहना पूरा नहुने सो पार्टीको निष्कर्ष छ ।

सात बुँदे भनिएपनि रवि र बालेनबीच मूलत: शक्ति बाँडफाँटमा सहमति भएको छ । रास्वपाकै नाम, चुनाव चिन्ह, झण्डा, कार्यालय स्वीकारेर सहमति गरेका बालेनलाई आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने भनिएको छ । त्यसको बदलामा उनले सहकारी काण्ड लागेका रविको नेतृत्व सहर्ष स्वीकार गर्नेछन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button