ट्रम्पसँग हुने भेटवार्तामा सुरक्षा प्रत्याभूति र शान्ति योजना उठाउने जेलेन्स्की

काठमाडौं / युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने आगामी भेटमा युक्रेनका लागि सुरक्षा प्रत्याभूतिबारे छलफल गर्ने योजना रहेको बताएका छन्।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै जेलेन्स्कीले उक्त भेट आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा हुने तय भएको जानकारी दिएका हुन्। यो विवरण इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले जनाएको छ।
उनका अनुसार भेटवार्ताका क्रममा युक्रेनले भू–भागसम्बन्धी विषय र जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रको नियन्त्रण सम्बन्धी प्रश्न पनि उठाउनेछ। जापोरिझ्झिया युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र मानिन्छ, जसको नियन्त्रण विषय युक्रेन–रूस द्वन्द्वमा संवेदनशील मुद्दाका रूपमा रहँदै आएको छ।
जेलेन्स्कीले २० बुँदे शान्ति योजना करिब ९० प्रतिशत तयारी अवस्थामा पुगेको र सुरक्षा प्रत्याभूति समेटिएका केही दस्तावेजहरू तयार भइसकेको जानकारी पनि दिएका छन्।
उनका अनुसार प्रस्तावित शान्ति योजनामा चार पक्ष युक्रेन, संयुक्त राज्य अमेरिका, रूस र युरोप समावेश छन्। रूस र युरोपको सहभागिता बिना उक्त दस्तावेजमा हस्ताक्षर सम्भव नहुने उनले स्पष्ट पारे।
युक्रेन–रूस युद्धका सन्दर्भमा कूटनीतिक पहलहरू तीव्र भइरहेका बेला जेलेन्स्की र ट्रम्पबीचको यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
Jana Aastha





