चीनले प्रक्षेपण गर्यो ‘फेङयुन–४–०३’ उपग्रह, मौसम पूर्वानुमान क्षमतामा ठूलो फड्को

बेजिङ / चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ मौसम सम्बन्धी उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
‘फेङयुन–४–०३’ नामको उक्त उपग्रहलाई बेइजिङ समयअनुसार राति १२:०७ बजे ‘लङ मार्च–३बी’ रकेटमार्फत प्रक्षेपण गरिएको हो। प्रक्षेपणपछि उपग्रह निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
यो सफल प्रक्षेपणसँगै चीनको फेङयुन मौसम उपग्रह श्रृंखलामा नयाँ सदस्य थपिएको छ। हाल २० भन्दा बढी उपग्रह समेटिएको यो श्रृंखलामा फेङयुन–४–०३ लाई समग्र अवलोकन क्षमताका दृष्टिले अहिलेसम्मकै सबैभन्दा सक्षम उपग्रह मानिएको छ।
शाङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजी (SAST) का अनुसार उक्त उपग्रहमा चारवटा पृथ्वी अवलोकन उपकरण र दुईवटा सूर्य अवलोकन उपकरण जडान गरिएको छ। यसमा अवलोकन क्षमता, मापनका सूचकहरू र डाटा प्रसारणको कार्यक्षमतामा उल्लेखनीय सुधार गरिएको छ।
उपग्रहमा रहेको उन्नत भू–स्थिर कक्षीय रेडियसन इमेजरले अब पाँच मिनेटमै पृथ्वीको सम्पूर्ण सतह स्क्यान गर्न सक्ने क्षमता राख्छ, जुन अघिल्लो १५ मिनेटको चक्रभन्दा तीन गुणा छिटो हो। साथै, हजारौँ किलोमिटर टाढाबाट पनि वायुमण्डलीय तापक्रममा एक डिग्री सेल्सियसको पचासौँ भाग बराबरको सानो परिवर्तन पहिचान गर्न सक्ने संवेदनशीलता यसमा रहेको छ।
यसैगरी, भू–स्थिर कक्षीय इन्टरफेरोमेट्रिक इन्फ्रारेड साउन्डर नामक अर्को प्रमुख उपकरणले आफ्नो स्थानिक रिजोल्युसन १२ किलोमिटरबाट ८ किलोमिटरमा सुधार गरेको छ। यसले चीनभरि तापक्रम र आर्द्रताको अवस्थालाई एक घण्टाभित्र नक्साङ्कन गर्न सक्ने क्षमता प्रदान गर्छ।
उपग्रहमा जडान गरिएको लाइटनिङ इमेजरले प्रति सेकेन्ड ५०० फ्रेम खिच्न सक्छ र ३० गिगाबिट प्रति सेकेन्डको डाटा प्रवाहभित्र चट्याङका घटनाहरू पहिचान गर्न सक्षम छ। SAST ले यस क्षमतालाई एक सेकेन्डमै ३० वटा उच्च गुणस्तरका चलचित्र छानबिन गरेर चट्याङसम्बन्धी संकेत भएका फ्रेम छुट्याएसरह भएको जनाएको छ।
SAST का अनुसार फेङयुन–४ श्रृंखलाले क्रमशः चीनको मौसम अवलोकन क्षमतामा विस्तार गर्दै आएको छ। चीनले फेङयुन–४–०१ उपग्रह सन् २०१६ को डिसेम्बरमा र फेङयुन–४–०२ सन् २०२१ को जुनमा प्रक्षेपण गरेको थियो।
नयाँ फेङयुन–४–०३ उपग्रहले उपग्रह–बीच समन्वय, उच्च गतिको डाटा प्रसारण र प्रसारण सेवाको सुविधा उपलब्ध गराउने भएकाले तीनवटै उपग्रह मिलेर एकीकृत र समन्वित अवलोकन सञ्जाल गठन हुने बताइएको छ।
SAST का अनुसार यस सुदृढ सञ्जालले मौसम पूर्वानुमान, मौसमजन्य विपद् न्यूनीकरण, अन्तरिक्ष मौसम अनुगमन तथा पारिस्थितिक–पर्यावरणीय अवलोकनमा चीनको क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्ने अपेक्षा गरिएको छ।





