चिनियाँ नौसेनाको टाइप–०५५ विध्वंसकबाट वाइ–जे–२० हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपण सार्वजनिक

बेइजिङ — चिनियाँ सरकारी सञ्चारमाध्यमले आइतबार पहिलो पटक चिनियाँ जनमुक्ति सेना (पीएलए) नौसेनाको टाइप–०५५ ठूला विध्वंसक युद्धपोतबाट वाइ–जे–२० (YJ-20) हाइपरसोनिक जहाज–विरोधी क्षेप्यास्त्र प्रक्षेपण गरिएको दृश्य सार्वजनिक गरेको छ। सैन्य विज्ञहरूका अनुसार अत्यधिक गतिशीलता भएको यो हाइपरसोनिक क्षेप्यास्त्रले करिब ठाडो कोणबाट लक्ष्यमा प्रहार गर्न सक्ने भएकाले यसलाई रोक्न अत्यन्त कठिन हुन्छ।
उक्त दृश्य पीएलए समाचार सञ्चार केन्द्रअन्तर्गतको आधिकारिक प्लेटफर्म ‘चाइना मिलिटरी बिगुल’ ले आइतबार सार्वजनिक गरेको हो। भिडियोमा १० हजार टन वर्गको टाइप–०५५ ठूला विध्वंसक ‘वुसी’ मा गरिएको जहाज देखि जहाज क्षेप्यास्त्रको फाइनलाइजेसन परीक्षण देखाइएको छ। फाइनलाइजेसन परीक्षण भन्नाले कुनै पनि हतियार प्रणालीको डिजाइन चरण पूरा भएर उत्पादनमा जानुअघि गरिने अन्तिम परीक्षणलाई जनाइन्छ।
भिडियोमा विभिन्न क्यामेरा कोणबाट प्रक्षेपण प्रक्रियाका नजिकका दृश्यहरू देख्न सकिन्छ। सार्वजनिक सामग्रीअनुसार वुसी विध्वंसकको पछिल्लो भागमा रहेको भर्टिकल लञ्चिङ सिस्टम (VLS) को एक कोषबाट वाइ जे–२० क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो। क्षेप्यास्त्रले कोल्ड लञ्च प्रविधि प्रयोग गरेको देखिन्छ, जसअनुसार इन्जिन प्रज्वलन हुनुअघि क्षेप्यास्त्रलाई VLS कोषबाट बाहिर निकालिन्छ।
चाइना मिलिटरी बिगुलको प्रतिवेदनअनुसार प्रक्षेपित क्षेप्यास्त्रले लक्ष्यमा ठोक्किएर त्यसलाई सफलतापूर्वक ध्वस्त पारेको छ। सरकारी सञ्चारमाध्यमबाट युद्धपोतबाट प्रत्यक्ष वाइ जे–२० हाइपरसोनिक क्षेप्यास्त्र प्रहार देखाइएको यो पहिलो घटना हो।
वाइ जे–२० क्षेप्यास्त्र सन २०२५ सेप्टेम्बरमा बेइजिङमा आयोजित चीनको भिक्ट्री डे (V-Day) सैन्य परेड मा पहिलो पटक सार्वजनिक गरिएको थियो। उक्त परेडमा वाइ जे–२० सँगै वाइ जे–१५, वाइ जे–१९ हाइपरसोनिक क्षेप्यास्त्र र वाइ जे–१७ हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको थियो। चिनियाँ सरकारी स्रोतहरूका अनुसार यी क्षेप्यास्त्रहरू विमानवाहक लडाकु विमान, सतहका युद्धपोत र पनडुब्बी लगायत विभिन्न प्रक्षेपण प्लेटफर्मबाट प्रहार गर्न सकिन्छ।
चिनियाँ सैन्य मामिला विज्ञ झाङ जुनशेका अनुसार म्याक ५ भन्दा बढी, अर्थात ध्वनिको गतिभन्दा पाँच गुणा बढी वेग हासिल गर्न सक्ने र मार्ग परिवर्तन गर्न सक्षम क्षेप्यास्त्रलाई हाइपरसोनिक क्षेप्यास्त्र मानिन्छ। उनले मिडियालाई दिएको प्रतिक्रियामा वाइ जे–२० को बनावट हेर्दा यो बुस्ट–ग्लाइड प्रकारको क्षेप्यास्त्र भएको बताए, जसमा रकेट बुस्टर र बाइकोन ग्लाइड भेहिकल समावेश हुन्छ।
झाङका अनुसार बाइकोन संरचनाले हाइपरसोनिक उडानका क्रममा शक्तिशाली शोक–वेभ सिर्जना गर्छ, जसले क्षेप्यास्त्रका एयर रुडरलाई अन्तिम चरणमा मार्ग परिवर्तन गर्न सक्षम बनाउँछ। यसले क्षेप्यास्त्रको प्रतिरक्षा भेदन क्षमता उल्लेखनीय रूपमा बढाउँछ।
उनका अनुसार वाइ जे–२० ले ब्यालेस्टिक क्षेप्यास्त्रजस्तै करिब ठाडो कोणबाट सतहमा रहेका युद्धपोतहरूमा आक्रमण गर्न सक्छ। हाइपरसोनिक गति र ठाडो आक्रमण कोणका कारण यसलाई अवरोध गर्नु अत्यन्तै कठिन हुन्छ।
टाइप–०५५ जस्ता ठूला विध्वंसकबाट तैनाथ गर्न सकिने वाइ जे–२० क्षेप्यास्त्रले दूर समुद्र (फार सिज) क्षेत्रमा पीएलए नौसेनाको लडाकु क्षमता वृद्धि गर्ने, चीनको रक्षा गहिराइ विस्तार गर्ने तथा समुद्री रणनीतिक क्षमतामा थप बल पुर्याउने झाङले बताएका छन्।





