संवाद र सहकार्यको सन्देशसहित शाङ्घाइ–ताइपेई सिटी फोरम सम्पन्न

शाङ्घाइ । चीनको शाङ्घाइमा आइतबार वार्षिक शाङ्घाइ–ताइपेई सिटी फोरम सम्पन्न भएको छ। “प्रविधिले जीवन रूपान्तरण गर्छ” भन्ने मूल विषयवस्तुमा आयोजित फोरममा ताइपेईका मेयर च्याङ वान–आनले सम्बोधन गर्दै, “यदि आदान–प्रदानप्रति इमानदार इच्छा छ भने, दुई किनाराबीचको दूरी टाढा रहँदैन” भन्ने सन्देश दिएका छन्।
वर्तमान क्रस–स्ट्रेट्स (ताइवान स्ट्रेट) सम्बन्ध तनावपूर्ण र अनिश्चित रहेको उल्लेख गर्दै मेयर च्याङले संवादको महत्त्वमा जोड दिए। “प्रतिरोधभन्दा संलग्नता राम्रो, टकरावभन्दा संवाद राम्रो, गलत बुझाइभन्दा समझदारी राम्रो र द्वन्द्वभन्दा अन्तरक्रिया राम्रो हुन्छ” भन्ने विश्वासका कारण फोरमलाई निरन्तरता दिइएको उनले बताए। उनले “दुई शहर फस्टाए भने, दुवै किनारा फस्टाउँछन्” भन्ने साझा दृष्टिकोणसमेत व्यक्त गरे।
फोरममा शाङ्घाइका मेयर गोंग झेङ पनि सहभागी भए। उनले शाङ्घाइ–ताइपेई सिटी फोरमलाई दुई शहरबीच सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा वर्णन गर्दै, ताइवान स्ट्रेट पारिको दूरी र समयको परीक्षा पार गर्दै आएको मित्रताको साक्षी भएको बताए।
मेयर गोंगका अनुसार यस वर्षको फोरममा कृत्रिम बुद्धिमत्ता (AI) का प्रयोग, प्रविधिमा आधारित शहरी प्रशासन, सार्वजनिक सुरक्षा तथा जनजीवनसँग सम्बन्धित क्षेत्रमा अनुभव र ज्ञान आदान–प्रदान गरिनेछ। यसले दुवै पक्षका नागरिकलाई प्रत्यक्ष लाभ, जीवन सन्तुष्टि र सुरक्षाको अनुभूति प्रदान गर्ने अपेक्षा गरिएको छ।
फोरमअघि आइतबार नै मेयर गोंग र मेयर च्याङबीच भेटवार्ता भएको थियो। भेटका क्रममा गोंगले च्याङलाई “शाङ्घाइका जनताका पुराना मित्र” भनेर सम्बोधन गरेको ताइवानका सञ्चारमाध्यमहरूले जनाएका छन्।
क्रस–स्ट्रेट्स सम्बन्धमा बढ्दो तनावका बीच पनि प्रत्यक्ष संवाद कायम रहनु दुवै पक्षका जनताका लागि आश्वस्तिको विषय भएको मेयर च्याङको भनाइ छ। “प्रत्यक्ष भेटघाटको विकल्प केही हुन सक्दैन। परिस्थिति जति कठिन हुन्छ, यस्ता आदान–प्रदान त्यति नै आवश्यक हुन्छन्,” उनले बताएका छन्।
चीनको स्यामेन विश्वविद्यालयअन्तर्गत ताइवान अध्ययन संस्थानका उप–डिन तथा प्राध्यापक झाङ वेनशेङले हालको परिस्थितिमा यस्ता संवाद च्यानलहरू अझै महत्वपूर्ण र अर्थपूर्ण भएको टिप्पणी गरेका छन्। उनका अनुसार दुई नगरपालिकाले सञ्चालन गर्ने यो फोरम अर्ध–आधिकारिक प्रकृतिको भए पनि शहरी विकास र जनकल्याणसँग सम्बन्धित विषय समेट्ने भएकाले जनतासँग प्रत्यक्ष सरोकार राख्छ। आधिकारिक स्तरका आदान–प्रदान रोकिएको अवस्थामा पनि यसले स्थायित्व कायम राख्ने भूमिका खेलिरहेको छ।
ताइवानको स्थानीय सञ्चारमाध्यम ताइपेई टाइम्स का अनुसार यस वर्ष ताइपेईबाट १२० सदस्यीय प्रतिनिधिमण्डल शाङ्घाइ पुगेको छ, जसमा नगर परिषद्का सभामुख, १० जना परिषद् सदस्य तथा विभिन्न नगर सरकारी अधिकारीहरू सहभागी छन्।
सन् २०१० मा स्थापना भई शाङ्घाइ र ताइपेईमा पालैपालो आयोजना हुँदै आएको यो फोरम हालसम्म दुई शहरबीच संवाद र सहकार्यको महत्वपूर्ण मञ्च बनेको छ। अहिलेसम्म दुवै शहरले ४९ वटा आदान–प्रदान तथा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन्।
तथ्यांकअनुसार, यस वर्षको तेस्रो त्रैमाससम्म शाङ्घाइले २० हजारभन्दा बढी ताइवान लगानीका उद्यम स्वीकृत गरेको छ, जसअन्तर्गत करिब ४७.३८ अर्ब अमेरिकी डलर बराबरको लगानी आकर्षित भएको छ। हाल शाङ्घाइमा १५ वटा ताइवान लगानीका सूचीकृत कम्पनी, ३३ वटा क्षेत्रीय मुख्यालय र ४० वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालनमा छन्।
ताइवानका एक सञ्चारकर्मी चेन शिह–चाङले स्थानीय मिडियामा लेख्दै, हालको तनावपूर्ण वातावरणमा शाङ्घाइ–ताइपेई सिटी फोरमजस्ता कार्यक्रम अत्यन्तै बहुमूल्य र प्रोत्साहनयोग्य भएको उल्लेख गरेका छन्। विशेषगरी युवापुस्ताले राजनीतिक तथा वैचारिक पूर्वाग्रहभन्दा माथि उठेर संवादलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
विश्लेषकहरूका अनुसार राजनीतिक अवरोधका बाबजुद पनि संवादको आवश्यकता समाप्त हुँदैन। ताइवानको सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (DPP) ले हालै मुख्यभूमि चीन भ्रमणसम्बन्धी नियम कडा बनाउने प्रयास गरे पनि यस्ता कदमप्रति जनस्तरबाट असन्तोष बढ्दै गएको बताइएको छ।
यस विषयमा चीनको राज्य परिषद् ताइवान मामिला कार्यालयकी प्रवक्ता झु फङलियानले DPP प्रशासनले अधिकारको दुरुपयोग गर्दै ताइवानका नागरिकलाई मुख्यभूमि भ्रमण र क्रस–स्ट्रेट्स आदान–प्रदानमा अवरोध पुर्याइरहेको आरोप लगाएकी छन्।
उता, ताइवान क्षेत्रको विधायिकाले विपक्षी दलको प्रस्तावमा क्षेत्रीय नेता लाई छिङ–तेविरुद्धको महाभियोग प्रस्ताव हालै स्वीकृत गरेपछि त्यहाँको राजनीतिक वातावरण थप तातिएको छ। विश्लेषकहरूका अनुसार, विभाजनकारी र आक्रामक नीतिका कारण क्रस–स्ट्रेट्स आदान–प्रदानमा गम्भीर क्षति पुगेको भन्दै ताइवान समाजभित्र असन्तुष्टि व्यापक हुँदै गएको छ।
यस पृष्ठभूमिमा सम्पन्न शाङ्घाइ–ताइपेई सिटी फोरमलाई तनावपूर्ण सम्बन्धबीच पनि संवाद, समझदारी र सहकार्यलाई जीवित राख्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।





