अनुशासन आयोगमा ५०० उजुरी, तर कारबाही किन भएन?

काठमाडौँ — एमालेका निवर्तमान केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा केन्द्रीय सल्लाहकार परिषदका पूर्वअध्यक्ष केशव बडालले सक्रिय राजनीतिबाट बिदा लिएपछि पनि पार्टीभित्रको अराजकता, नेतृत्वको आत्मकेन्द्रित रवैया र गम्भीर उजुरीहरूको तरलता माथि गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनको आरोप छ, केपी शर्मा ओली नेतृत्वले मनमानी गरेर पार्टी विधान बदल्ने, सल्लाह नसुन्ने र विवादास्पद नेताहरूलाई कारबाही हुनबाट बचाउने गरेको।

जनआस्था साप्ताहिकलाई दिइएको अन्तर्वार्तामा वरिष्ठ नेता बडालले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष रहँदा आएका ५ सयभन्दा बढी मौखिक र सयभन्दा बढी लिखित उजुरीमध्ये धेरैको निस्तारीय नभएको पीडा पोखेका छन्।

बडालले आरोप लगाएका छन् कि विभिन्न नेताहरू विभिन्न काण्डमा मुछिँदा पनि कारबाही गर्न सकिएन। “मैले यो राम्रो भएन भनेको थिएँ तर केपी कमरेडले सुन्नुभएन,” उनले भने, “जति गर्नुपर्ने थियो, त्यति गर्न नसकेकोमा म खुशी छैन।” उनले पार्टीभित्र यौन दुराचारसम्मका गम्भीर उजुरी आए तर डरले मानिसहरूले लिखित उजुरी दिन नसक्ने अवस्था रहेको बताए।

बडालले गोदावारी महाधिवेशनले पारित गरेको पार्टी विधान मात्र तीन महिनापछि नै संशोधन गरिएकोमा पनि गहिरो असन्तुष्टि जनाए। उनले भने, “तीन महिनाअघि मात्रै सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी लगायतको आकारको सम्बन्धमा जुन निर्णय गरिएको थियो, त्यो फेरि ब्युँताइयो। तर वरिष्ठ उपाध्यक्ष हटाउने निर्णय मात्र कायम भयो।” उनले यसलाई पार्टी नेतृत्वको चूक ठाने। “म केपी कमरेडसहितलाई के भन्न चाहन्छु भने कम्तीमा निर्णय सोचेर र विचारेर मात्र गरौँ,” उनले सुझाव दिए, “लहडमा प्रमोशन र डिमोसन गर्ने काम राम्रो होइन। आगामी दिनमा यो कुरालाई गम्भीर रूपमा नलिने हो भने अर्को दुर्घटना हुन सक्छ।”

वरिष्ठ नेताले पार्टी नेतृत्वमा धन, यौन सम्बन्ध र पदको लोभ बढेको र यसले संगठनलाई कमजोर बनाएको चेतावनी दिए। उनले भने, “अहिलेको नेतृत्वले ‘म नै सर्वज्ञ हुँ, अरु बाँकीचाहिँ सुन्ने मात्र हुन्’ भन्ने ठान्दै आएको छ।” उनले मदन भण्डारीको सामूहिक नेतृत्व शैली र केपी ओलीको एकल निर्णय प्रक्रियाको तुलना गर्दै वर्तमान नेतृत्वलाई आत्मकेन्द्रित ठहर्याए।

बडालले पार्टी कार्यालय केशर महलमा लागेको आगलागी प्रसङ्गमा पनि गम्भीर शंका व्यक्त गरे। उनले बताए कि आगलागीमा अनुशासन आयोगको कोठामा रहेका उजुरी, कारवाहीका दस्तावेज, अनुसन्धान प्रतिवेदन र उनको निजी २९ बोरा पुस्तक जलेको थियो। “अरु कोठा त्यसरी खरानी पारिएको थिएन, तर आयोगको कोठा मात्रै केही बाँकी नरहनेगरी डढाइयो,” उनले आशंका जनाए।

अन्त्यमा उनले केपी ओलीलाई सल्लाह दिँदै भने, “हरेक मान्छेमा मन हुन्छ, भावना हुन्छ। उनीहरूको भावनालाई चोट पु¥याउने काम कहिल्यै नगर्नुहोला। अरूको चित्त दुखाएर के पाउनुहुन्छ ?”

बडालको यो अन्तर्वार्ताले एमालेभित्रको गम्भीर अन्तर्द्वन्द्व, नेतृत्वमाथिको बढ्दो असन्तुष्टि र अनुशासन प्रक्रिया ध्वस्त हुने खतरा उजागर गरेको छ। पार्टी नेतृत्वले यसप्रति कस्तो प्रतिक्रिया दिन्छ, त्यो हेर्न बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button