शी जिनपिङद्वारा पीएलए डेलीका कर्मचारीलाई बधाई, आधुनिक सैन्य सञ्चार प्रणाली सुदृढ बनाउन आग्रह

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनपिङले चिनियाँ जनमुक्ति सेना (पीएलए) को आधिकारिक पत्रिका पीएलए डेली स्थापनाको वार्षिकोत्सवका अवसरमा पत्रमार्फत कर्मचारीहरूलाई हार्दिक बधाई ज्ञापन गरेका छन्।
चीनको कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोग (सीएमसी) का अध्यक्षसमेत रहेका सीले सीपीसी केन्द्रीय समिति र सीएमसीको तर्फबाट पत्रिकाका सम्पूर्ण कर्मचारीप्रति शुभकामना व्यक्त गरेका हुन्।
पत्रमा राष्ट्रपति सीले विगत सात दशकमा पीएलए डेली ले पार्टी र सशस्त्र बलका उत्कृष्ट परम्परालाई अघि बढाउन, क्रान्तिकारी अधिकृत र सैनिकहरूको पुस्ता तयार गर्न तथा जनताको सशस्त्र बलको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन्।
उनले पीएलए डेली ले आफ्ना मौलिक सिद्धान्तमा दृढ रहँदै नवप्रवर्तनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै अझ प्रभावकारी र आधुनिक सैन्य सञ्चार प्रणाली निर्माण गर्न प्रयासरत रहन आग्रह गरेका छन्। यसले राष्ट्रिय रक्षा र सशस्त्र बलको आधुनिकीकरणका लागि शक्तिशाली आधार तयार गर्ने उनको भनाइ छ।
पीएलए डेलीको वार्षिकोत्सवका अवसरमा बुधबार बेइजिङमा आयोजित स्मृति सभामा राष्ट्रपति सीको सन्देश केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष झाङ शेङमिनले वाचन गरेका थिए।
सो अवसरमा झाङले पीएलए डेली ले सीपीसी केन्द्रीय समिति र सीएमसीको आवाज दृढताका साथ प्रवाह गर्नुपर्ने तथा शक्तिशाली सेना निर्माणको अभियानलाई वैचारिक र जनसमर्थनमार्फत सशक्त बनाउने भूमिकामा अडिग रहनुपर्ने बताएका छन्।
सन् १९५६ जनवरी १ मा स्थापना भएको पीएलए डेली केन्द्रीय सैन्य आयोगको आधिकारिक पत्रिका हो।





