सी चिनफिङ र भ्लादिमिर पुटिनबीच नयाँ वर्षको शुभकामना आदान–प्रदान

बेइजिङ/मस्को — चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार नयाँ वर्षको अवसरमा आपसी शुभकामना सन्देश आदान–प्रदान गरेका छन्।
राष्ट्रपति सीले चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट राष्ट्रपति पुटिन तथा रुसी जनतालाई नयाँ वर्षको हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन्। सन्देशमा उनले सन् २०२५ संयुक्त राष्ट्रसंघ स्थापनाको ८०औँ वर्षगाँठ भएको उल्लेख गर्दै चीन र रुसले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध, सोभियत संघको ‘ग्रेट प्याट्रियोटिक वार’ तथा विश्व फासिवादविरुद्धको विजयको ८०औँ वर्षगाँठ संयुक्त रूपमा स्मरण गरेको बताए।
यस ऐतिहासिक स्मरणले शान्ति, न्याय र जनताको विजय अपरिहार्य हुने सशक्त सन्देश दिएको सीले उल्लेख गरे। उनले सन् २०२५ चीन–रुस ‘नयाँ युगको व्यापक रणनीतिक सहकार्य साझेदारी’लाई अझ मजबुत बनाउने महत्वपूर्ण वर्षसमेत भएको बताए। यस क्रममा आफूहरू बेइजिङ र मस्कोमा भेटेर साझा चासोका प्रमुख विषयहरूमा गहिरो छलफल भएको स्मरण गरे।
राष्ट्रपति सीका अनुसार दुवै देशबीच पारस्परिक भिसामुक्त नीतिको कार्यान्वयन भइसकेको छ, ऊर्जा करिडोर निर्माण स्थिर रूपमा अघि बढिरहेको छ र नयाँ तथा उदीयमान क्षेत्रहरूमा सहकार्य तीव्र गतिमा विस्तार भइरहेको छ। साथै, संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय संयन्त्रहरूमा चीन र रुसले एक–अर्कालाई समर्थन गर्दै विश्व शासन प्रणाली सुधारमा योगदान पुर्याइरहेका छन्।
सीले सन् २०२६ चीन–रुस रणनीतिक सहकार्य साझेदारीको ३०औँ वर्षगाँठ तथा ‘सद्भाव र मैत्री सहकार्य सन्धि’ हस्ताक्षरको २५औँ वर्षगाँठ पनि हुने जानकारी दिए। उनले सन् २०२६–२०२७ लाई ‘चीन–रुस शिक्षा वर्ष’का रूपमा मनाइने घोषणा गरे।
सन्देशको अन्त्यमा चिनियाँ राष्ट्रपतिले नयाँ युगमा द्विपक्षीय सम्बन्धलाई निरन्तर नयाँ उचाइमा पुर्याउन राष्ट्रपति पुटिनसँग घनिष्ठ सम्पर्क र सहकार्य कायम राख्न आफू तयार रहेको स्पष्ट पारे।





