सी चिनफिङद्वारा २०२६ नयाँ वर्ष सन्देश

उच्च गुणस्तरीय विकास र चिनियाँ आधुनिकीकरणलाई नयाँ उचाइमा पुर्‍याउने आह्वान

बेइजिङ, डिसेम्बर ३१, २०२५ — चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार साँझ २०२६ को नयाँ वर्ष सन्देश दिँदै सन् २०२५ मा हासिल भएको ठोस प्रगतिलाई समेट्दै चीनको ‘चमत्कार’ यात्रामा नयाँ अध्याय लेख्न दृढ कदम चाल्न आह्वान गरेका छन्।

सन्देशमा राष्ट्रपति सीले सन् २०२६ बाट १५औँ पञ्चवर्षीय योजनाको सुरुआत हुने उल्लेख गर्दै सफल यात्रा राम्रो योजनाबाट सुरु हुने बताए। स्पष्ट लक्ष्यका साथ उच्च गुणस्तरीय विकास प्रवर्द्धन, सर्वाङ्गीण सुधार र खुलापनलाई अझ गहिरो बनाउने तथा साझा समृद्धि सुनिश्चित गर्न जोड दिए। “हामीले लक्ष्य र कार्यमा केन्द्रित भई आत्मविश्वास बढाउँदै अघि बढ्नुपर्छ,” उनले भने।

सन् २०२५ ले चीनको १४औँ पञ्चवर्षीय आर्थिक तथा सामाजिक विकास योजनाको समापन जनाउँदै राष्ट्रपति सीले योजना अन्तर्गतका लक्ष्यहरू पूरा भएको र चिनियाँ आधुनिकीकरणको नयाँ यात्रामा ठोस प्रगति भएको बताए। उनले आर्थिक शक्ति, विज्ञान–प्रविधि क्षमता, रक्षा क्षमता र समग्र राष्ट्रिय शक्ति नयाँ उचाइमा पुगेको उल्लेख गरे।

२०२५ लाई ‘अमिट सम्झनाले भरिएको वर्ष’का रूपमा चित्रण गर्दै राष्ट्रपति सीले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा विश्व फासिवादविरुद्धको विजयको ८०औँ वर्षगाँठ स्मरण गरिएको, साथै ‘ताइवान पुनःप्राप्ति दिवस’ स्थापना गरिएको जानकारी दिए। यसले राष्ट्रिय पुनर्जागरणका लागि शक्तिशाली एकता निर्माण गरेको उनको भनाइ थियो।

राष्ट्रपति सीले नवप्रवर्तनमार्फत उच्च गुणस्तरीय विकासलाई ऊर्जा दिँदै चीन विश्वकै तीव्र गतिमा नवप्रवर्तन क्षमता बढ्दै गएको अर्थतन्त्रमध्ये एक बनेको बताए। सांस्कृतिक विकासतर्फ जनचासो बढेको, संग्रहालय, सांस्कृतिक सम्पदा र अमूर्त सांस्कृतिक विरासतप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै चिनियाँ संस्कृति अझ उज्यालो बनेको उनले बताए।

“जनताको साना–साना विषय पनि हाम्रो लागि ठूलो हो,” राष्ट्रपति सीले भने, “जब दैनिक जीवनको सुखद गुन्गुनाहट प्रत्येक घरमा भरिन्छ, तब हाम्रो राष्ट्रपरिवार अझ बलियो बन्छ।”

नयाँ वर्ष सन्देशमा राष्ट्रपति सीले विगत वर्ष चीनले विश्वतर्फ खुला हात फैलाउँदै सहकार्य विस्तार गरेको बताए। जलवायु परिवर्तनको सामना गर्न चीनले नयाँ राष्ट्रिय निर्धारित योगदान (NDCs) घोषणा गरेको उल्लेख गर्दै विकास, सुरक्षा र सभ्यतासम्बन्धी तीन विश्वव्यापी पहलपछि ‘विश्व शासन पहल’ प्रस्ताव गरिएको जानकारी दिए। यसले न्यायपूर्ण र समतामूलक विश्व शासन प्रणाली प्रवर्द्धन गर्ने उनको भनाइ थियो।

“चीन सधैं इतिहासको सही पक्षमा उभिन्छ र विश्व शान्ति तथा विकासका लागि सबै देशसँग सहकार्य गर्न तयार छ,” उनले भने।

ताइवानबारे राष्ट्रपति सीले दुवै किनाराका चिनियाँबीच रगत र नाताको सम्बन्ध रहेको उल्लेख गर्दै मातृभूमिको पुनःएकीकरण समयको माग भएको र यो रोक्न नसकिने बताए। हङकङ र मकाओका हकमा ‘एक देश, दुई प्रणाली’ नीति दृढताका साथ कार्यान्वयन गरिने र दुवै विशेष प्रशासनिक क्षेत्रलाई राष्ट्रिय समग्र विकासमा समाहित गर्दै दीर्घकालीन समृद्धि र स्थिरता सुनिश्चित गरिने स्पष्ट पारे।

सन्देशको अन्त्यतिर राष्ट्रपति सीले कम्युनिस्ट पार्टी अफ चाइनाको भूमिकामा जोड दिँदै भने, “बलियो कम्युनिस्ट पार्टी बिना देश बलियो हुन सक्दैन।” पार्टीले कडा आत्मअनुशासन र आत्मक्रान्तिमार्फत भ्रष्टाचारविरुद्ध संघर्ष गर्दै सुशासन प्रवर्द्धन गरेको उल्लेख गर्दै मूल उद्देश्यप्रति निष्ठावान रहँदै निरन्तरता र समर्पणका साथ अघि बढ्न आह्वान गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button