समाजद्वारा रूसी संघप्रति ऐक्यबद्धता, नागरिकमाथि आक्रमणको कडा निन्दा

काठमाडौँ। नेपाल–चीन पारस्परिक सहयोग समाजले रूसी संघको केर्सन क्षेत्रमा निर्दोष नागरिकहरूलाई लक्षित गरी भएका हालसालैका आक्रमण तथा नोभगोरोद क्षेत्रमा रूसी राष्ट्रपतिको आवासमाथि गरिएको आक्रमण प्रयासको कडा निन्दा गर्दै रूसी संघप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
संस्थाले रूसी संघको नेपालस्थित दूतावासलाई पठाएको औपचारिक पत्रमार्फत यस्ता घटनाले अन्तर्राष्ट्रिय मानवीय कानुन, सभ्य अन्तर्राष्ट्रिय आचरण र संयुक्त राष्ट्र सङ्घ चार्टरले स्थापित गरेको शान्ति तथा सुरक्षाको अवधारणालाई गम्भीर चुनौती दिएको उल्लेख गरेको छ।
पत्रमा नेपाल–चीन पारस्परिक सहयोग समाजले आफू अन्तर्राष्ट्रिय शान्ति, बहुपक्षीय सहयोग, सार्वभौम समानता र राष्ट्रहरूको आत्मनिर्णयको अधिकारमा विश्वास गर्ने संस्था भएको स्पष्ट गर्दै आतंकवाद विरुद्ध रूसी संघले लिएको अडानप्रति पूर्ण समर्थन व्यक्त गरेको छ। निर्दोष नागरिक, महिला, बालबालिका तथा सार्वजनिक संरचनालाई लक्षित गर्ने कुनै पनि कार्य मानव सभ्यतामाथिको आक्रमण भएको उल्लेख गर्दै आतंकवाद विरुद्धको संघर्ष सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको साझा दायित्व भएको जनाइएको छ।
संस्थाले प्रत्येक सार्वभौम राष्ट्रलाई आफ्नो भू–भाग, नागरिक र राष्ट्रिय नेतृत्वको सुरक्षा सुनिश्चित गर्ने वैधानिक अधिकार हुने उल्लेख गर्दै रूसी संघको आन्तरिक सुरक्षा र राष्ट्रिय हितलाई लक्षित गरी गरिएका आक्रमणहरू अस्वीकार्य भएको धारणा राखेको छ। साथै, रूसी संघको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र आत्मरक्षाको अधिकारप्रति दृढ समर्थन व्यक्त गरिएको छ।
अन्तर्राष्ट्रिय राजनीतिमा देखिँदै आएको द्वैध मापदण्ड र चयनात्मक निन्दाप्रति पनि संस्थाले आपत्ति जनाएको छ। केर्सनलगायत अन्य क्षेत्रमा भएका मानवीय विपदलाई बेवास्ता गर्नु अन्तर्राष्ट्रिय समुदायका लागि नैतिक असफलता हुने चेतावनी पत्रमा दिइएको छ।
पत्रमा सशस्त्र द्वन्द्वबाट प्रभावित रूसी नागरिकहरूलाई आवश्यक मानवीय सहयोग, सुरक्षा र राहत उपलब्ध गराउन आग्रह गरिएको छ। नागरिकहरूको जीवन र गरिमाको रक्षा अन्तर्राष्ट्रिय समुदायको प्राथमिक दायित्व हुनुपर्नेमा जोड दिइएको छ।
नेपाल–चीन पारस्परिक सहयोग समाजले युद्ध र हिंसाको सट्टा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनको सम्मानमा आधारित समाधानको पक्षमा रहेको उल्लेख गर्दै शान्तिको खोजी कमजोरमाथि आक्रमण सहनु नभई न्यायपूर्ण र सन्तुलित अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्नु भएको स्पष्ट पारेको छ।
यस कठिन समयमा संस्थाले रूसी जनताको साहस, धैर्य र राष्ट्रिय एकताको प्रशंसा गर्दै आक्रमणमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
संस्थाले अन्त्यमा अन्तर्राष्ट्रिय समुदायलाई आतंकवाद, राजनीतिक हिंसा र मानवीय कानुनको उल्लङ्घनविरुद्ध स्पष्ट, निष्पक्ष र दृढ कदम चाल्न आह्वान गर्दै शान्ति, न्याय र सार्वभौम सम्मानमा आधारित विश्व व्यवस्था निर्माण नै साझा लक्ष्य भएको उल्लेख गरेको छ।







