६ महिनापछि चीन-नेपाल रसुवागढी नाका खुल्दा एकै दिन भित्रिए २७ कन्टेनर६ महिनापछि चीन-नेपाल रसुवागढी नाका खुल्दा एकै दिन भित्रिए २७ कन्टेनर

करिब ६ महिनापछि रसुवागढी नाका सञ्चालनमा आएको छ । चीन–नेपाल जोड्ने ल्हेन्देखोलाको पुल गत २४ असारमा बाढीले बगाएसँगै रसुवागढी नाका अवरुद्ध बनेको थियो । उक्त खोलामा चीनले अस्थायी बेलिब्रिज बनाएपछि नाका सञ्चालनमा आएको हो ।
नाका खुलेसँगै सामान बोकेका २७ वटा कन्टेनर बिहीबार नेपाल भित्रिएका छन् । २८ वटा खाली कन्टेनर सामान लिन गएको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले बताउनुभयो। ‘लामो समयपछि नाका खुलेको हो, सुनसान बनेको भन्सार कार्यालयमा चहलपहल सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘बाढीपछि ठप्प बनेको नाका खुलेपछि पहिलो पटक स्याउ, ओखर, लत्ताकपडा भित्रिएको छ ।’ नेपाली सेनाको विस्फोटक पदार्थ पनि यही नाका हुँदै आएको छ । सेनाले यसरी मगाएको विस्फोटक पदार्थ प्रायः सुरुङ, सडकको अप्ठ्यारो खण्ड र जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने गरेको छ ।
अघिपछि यो नाकाबाट दिनको करिब एक सय हाराहारीमा कन्टेनर पारिबाट सामान लिएर आउने र त्यति नै संख्यामा पारि जाने गर्थे । यो नाकाबाट तयारी वस्तुसँगै सहज हुँदा सबैभन्दा बढी विद्युतीय सवारीसाधन भित्रिन्थे ।
विभिन्न जलविद्युत् आयोजनाको सामान यो नाकाबाट भित्रने गरेको छ । त्यस्ता सामान गाडीमा खुला रूपमा ल्याइने भएकाले अहिलेको पुलबाट पार गराउन कठिन हुने भन्सार कार्यालयले जनायो । साढे ७ मिटर उचाइभन्दा बढी बनाएर खुला रूपमा सामान ल्याए पुलबाट पार गराउन सकिन्न ।
यता दसैंको मुखमा नाका बन्द हुँदा विद्युतीय गाडी, फलफूल र लत्ताकपडा आउन सकेका थिएनन् । जसले गर्दा ग्राहकको मागअनुसार व्यवसायीलाई सवारीसाधन बिक्री गर्न समस्या भएको थियो । यो नाका ठप्प भएपछि केही सामान र सवारीसाधन मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट पनि भित्रिए ।
नाका बन्द भएपछि अहिलेसम्म (पुसको सहित) करिब २१ अर्ब राजस्व गुमेको रसुवा भन्सार कार्यालयले जनाएको छ । नाका बन्द भएपछि अन्य नाकाबाट थोरैको संख्यामा मालवाहक सवारी नेपाल भित्रिए पनि रसुवा नाकाको राजस्व संकलनमा ठूलो प्रभाव नपारेको भन्सार प्रमुख भट्टराईको भनाइ छ । नाका खुलेपछि उताबाट सामान बोकेका मालवाहक सवारीसाधन रसुवा भन्सारको यार्डमा आउनेछन् । भोटेकोशीको किनारमा रहेको यार्डमा बाढीले क्षति गरेको भए पनि त्यहाँ सरसफाइ गरेर करिब दुई सय मालवाहक सवारीसाधन अट्ने बनाइएको छ ।
लामो समय नाका बन्द हुँदा स्थानीयको रोजीरोटीसमेत मात्र गुमेन, भन्सार कार्यालयको चालु आर्थिक वर्षमा ४० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यसमेत प्रभावित बनेको छ । नाका ठप्प रहेकाले नयाँ आर्थिक वर्ष सुरु भएयता राजस्व संकलन भने हुन सकेको छैन । नाका खुलेपछि भने स्थानीयहरू हर्षित बनेका छन् ।
दुई देशका स्थानीयस्तरकै अधिकारीको उपस्थितिमा नाका खुलेसँगै कन्टेनर पारिबाट आउने र वारिबाट पारि जाने क्रम सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताउनुभयो। ‘लामो समयपछि नाका खुलेको छ,’ उनले भने, ‘नाका खुलेसँगै चहलपहल पनि सुरु भएको छ ।’कान्तिपुर अनलाइनका अनुसार अहिले नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडक चीन सरकारको अनुदानमा स्तरोन्नति गरिँदै छ ।
CGTN





