चीनले नेपालका लागि नयाँ राजदूत मनोनयन गर्यो

चाङ माओमिङ हुन् नेपालको राजनीतिक वृत्तमा परिचित अनुहार

काठमाडौँ, नेपाल / जनगणतन्त्र चीनले नेपालका लागि नयाँ राजदूतको रूपमा परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ माओमिङलाई मनोनयन गरेको छ। चीनले उनको नियुक्तिका लागि आवश्यक एग्रिमो (सहमति) नेपाल सरकारसमक्ष पेश गरिसकेको छ।

नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार नयाँ राजदूतको एग्रिमो नेपालकाे परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा बुझाएको हो। तीन वर्षे कार्यकाल पूरा गरेर पदोन्नति पाएका पूर्व राजदूत हुइयान योङचाङ (छन् सोङ) को स्थानमा चाङ माओमिङलाई नियुक्त गर्न लागिएको हो। छन् सोङ दुई साताअघि स्वदेश फर्किएका हुन् र हाल परराष्ट्र मन्त्रालयको नीति योजना विभागमा निर्देशकका रूपमा कार्यरत छन्।

नयाँ नियुक्त हुन लागेका राजदूत चाङ नेपालको राजनीतिक तथा कूटनीतिक वृत्तमा नौलो व्यक्तित्व होइनन्। यसअघि विभिन्न कूटनीतिक समारोह तथा वार्ताहरूमा उनको नेपाली राजनीतिक नेतृत्व तथा उच्च अधिकारीहरूसँग भेटवार्ता भइसकेको छ। नेपालको आन्तरिक तथा वाह्य मामिलामा गहिरो जानकारी राख्ने चाङलाई एक विश्लेषणात्मक कूटनीतिज्ञको रूपमा चिनिन्छ।

चाङ माओमिङको नियुक्तिले चीन–नेपाल द्विपक्षीय सम्बन्धलाई अझ गतिशील बनाउने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार, उनको एसियाली मामिलाको व्यापक अनुभवले दुई देशबीचको सहयोग तथा साझा हितका विषयहरूमा सकारात्मक भूमिका खेल्न सक्छ।

पृष्ठभूमि:
चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत नीति योजना विभागले विश्व परिस्थितिको अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्धका रणनीतिक विषयहरूको विश्लेषण, कूटनीतिक नीति निर्माण तथा महत्वपूर्ण कूटनीतिक दस्तावेज तयारी गर्ने जिम्मेवारी बहन गर्दछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button