देशभित्र अशान्ति र असुरक्षा फैलाउन दुरुपयोग गर्ने प्रयास “बिल्कुलै अस्वीकार्य” : ईरानी सर्वोच्च नेता

तेहरान, जनवरी ४ । ईरानको सर्वोच्च नेता अयातुल्लाह अली खामेनईले शनिबार व्यापारीहरूको आर्थिक विरोधप्रदर्शनलाई देशभित्र अशान्ति र असुरक्षा फैलाउन दुरुपयोग गर्ने प्रयासलाई “बिल्कुलै अस्वीकार्य” बताएका छन्।
खामेनईले तेहरानमा जुनमा इजरायलसँग भएको १२-दिने युद्धमा मारिएकाहरूका परिवारसँग भेटघाटको क्रममा यो टिप्पणी गरे। आधिकारिक समाचार एजेन्सी आइआरएनएको उद्धृत गर्दै सिन्ह्वा समाचारले खामेनईले भनेको बताएकाे छ, “विभिन्न लेबल र नामहरू” अन्तर्गत कतिपयले “विश्वासी र इमान्दार” व्यापारीहरूको विरोधप्रदर्शनको दुरुपयोग गर्नु कुनै पनि हालतमा स्वीकार्य हुँदैन।
उनले “शत्रुको प्रेरित वा तलबदार एजेन्टहरू” द्वारा यी विरोधप्रदर्शनहरूलाई ईरान र इस्लामी क्रान्ति विरुद्ध नारा लगाउने अवसरको रूपमा प्रयोग गर्ने कार्यलाई कटु आलोचना गरे।
एसोसिएटेड प्रेस (एपी) को रिपोर्ट अनुसार, बृहस्पतिबार ईरानका विभिन्न भागहरूमा बढ्दो जीवनयापन खर्च विरुद्ध विरोधप्रदर्शन फैलिएपछि अमेरिकी राष्ट्रपति र ईरानी शीर्ष अधिकारीहरूबीच धम्कीको आदान-प्रदान भएको छ।
स्थानीय समय अनुसार बृहस्पतिबार ट्रुथ सोसलमा एक पोष्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरे, “यदि ईरानले शान्तिपूर्ण प्रदर्शनकारीलाई मार्यो भने, जुन उनीहरूको चलन हो, संयुक्त राज्य अमेरिका उनीहरूको उद्धारका लागि आउनेछ।” यसको प्रतिक्रियामा, ईरानी अधिकारीहरूले देशको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप विरुद्ध चेतावनी जारी गरेका छन्।
परराष्ट्रमन्त्री अब्बास अराघचीले एक्स (पूर्वमा ट्विटर) मा चेतावनी दिंदै भने, “देशको सशस्त्र बलहरू तत्पर छन् र ईरानी सार्वभौमिकतामा कुनै पनि उल्लङ्घनको घटनामा कहाँ लक्ष्य गर्ने भन्ने कुरा उनीहरूलाई राम्ररी थाहा छ।”
आइआरएनए समाचार एजेन्सीको रिपोर्ट अनुसार, परराष्ट्र मन्त्रालयले एक बयानमा भनेको छ, “कुनै पनि आक्रमणको प्रतिउत्तर इस्लामी गणतन्त्र ईरानको तर्फबाट छिटो, दृढ र व्यापक हुनेछ।”
शीर्ष ईरानी अधिकारी अली लारिजानीले पनि आफ्नो एक्स खातामा चेतावनी दिए, “यस आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको मतलब सम्पूर्ण क्षेत्रलाई अस्थिर पार्नु र अमेरिकाको हितलाई नष्ट गर्नु हुनेछ।”
अल जजीराको रिपोर्ट अनुसार, यो अस्थिरता ईरानका लागि एक गम्भीर क्षणमा आएको छ जब पश्चिमी प्रतिबन्धले ४० प्रतिशत मुद्रास्फीतिले प्रहार गरेको अर्थतन्त्रलाई थप क्षति पुर्याइरहेको छ। जुनमा इजरायल र अमेरिकाको हवाई हमलाले देशको आणविक ढाँचा र सैन्य नेतृत्वलाई लक्ष्य बनाएको थियो।
सिन्ह्वा समाचारको जानकारी अनुसार, २०१८ मा अमेरिकाले ईरानको २०१५ को आणविक सम्झौताबाट आफूलाई अलग गरेर पुनः प्रतिबन्ध लगाएपछि ईरानी रियाल कमजोर भएको छ। खुला बजारमा हाल एक अमेरिकी डलर १३ लाख ५० हजार भन्दा बढी रियालको दरमा बिक्री हुँदैछ।





