नेता देवप्रसाद गुरुङद्वारा भेनेजुएलामाथिको अमेरिकी सैन्य हस्तक्षेपको कडा निन्दा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता देवप्रसाद गुरुङले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य आक्रमणको कडा शब्दमा निन्दा गर्दै त्यसलाई तत्काल बन्द गर्न माग गर्नुभएको छ।
नेता गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा जनवरी ३ मा अमेरिकी सेनाले सार्वभौमसत्ता सम्पन्न तथा संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजुएलामाथि सैन्य आक्रमण गरेको र भेनेजुएलाका राष्ट्रपतिलाई परिवारसहित अपहरण गरी वेपत्ता पारिएको आरोप लगाउनुभएको छ। उहाँका अनुसार उक्त घटनाले संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन तथा मानव अधिकारको खुलेआम उल्लङ्घन गरेको छ।
गुरुङले यस प्रकारको अमेरिकी सैन्य हस्तक्षेप र आक्रमणलाई अस्वीकार्य भन्दै घोर भर्त्सना गर्नुभएको छ। साथै भेनेजुएलामाथिको सैन्य हस्तक्षेप तत्काल अन्त्य गर्न, अपहरित राष्ट्रपतिको सकुशल रिहाइ सुनिश्चित गर्न र भेनेजुएली जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको छ।
विज्ञप्तिमा उहाँले यस गम्भीर समस्याको समाधानका लागि संयुक्त राष्ट्र संघले अविलम्ब पहल गर्नुपर्नेमा जोड दिनुहुँदै सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहेको उल्लेख गर्नुभएको छ।
नेता गुरुङको यस अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीतिमा भेनेजुएला संकट र त्यसप्रति नेपालका कम्युनिस्ट नेताहरूको धारणा पुनः चर्चामा आएको छ।





