भरत दाहालद्वारा अमेरिकी ‘साम्राज्यवाद’को कडा आलोचना, ‘अपहरणकारी लुटेरा शक्ति’को संज्ञा

काठमाडौँ । त्रिमूल नेपाल पार्टीका अध्यक्ष तथा राजनीतिक विश्लेषक भरत दाहालले अमेरिकामाथि तीव्र आरोप लगाउँदै त्यसलाई “अपहरणकारी लुटेरा साम्राज्यवाद”को रूपमा चित्रण गरेका छन्। उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले “सैतानी शैलीमा अपहरण गरेर लैजाने” कार्य गरेको दाबी गरेका छन्।

दाहालका अनुसार, उक्त घटनापछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल सम्पत्ति लुट्ने घोषणा गरेको उल्लेख गर्दै उनले यसलाई खुला साम्राज्यवादी चरित्रको उदाहरण भनेका छन्। उनकाे भनाइमा, लामो समयसम्म विश्व स्रोतसाधन लुटेर समृद्ध बनेको अमेरिका पछिल्लो समय आर्थिक रूपमा कमजोर बन्दै गएपछि पुनः आक्रामक र अमानवीय मार्गतर्फ फर्किएको छ।

“२१औँ शताब्दीमा पनि अपहरण, लुट र बल प्रयोगमार्फत प्रभुत्व जमाउने नीति अमेरिकाले अंगालेको छ,” दाहालले बताएका छन्। उनका अनुसार यो प्रवृत्ति केवल भेनेजुएलासम्म सीमित नरही विश्वव्यापी रूपमा फैलिएको छ।

नेपालको सन्दर्भ जोड्दै दाहालले यहाँ पनि यस्तै ‘अपहरण रणनीति’ प्रयोग भइसकेको दाबी गरेका छन्। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई लक्षित गर्दै प्रधानमन्त्री बनाउने योजनाका लागि बाह्य शक्तिहरूले हस्तक्षेपको प्रयास गरेको आरोप लगाएका छन्।

दाहालले अमेरिका आफ्ना स्वार्थका लागि क्यानडा र ग्रिनल्याण्डजस्ता देशहरूमाथि समेत लुटतन्त्र थोपर्न उद्यत रहेको दाबी गर्दै त्यसको ‘दलाली’ गर्ने शक्तिहरू नेपालमा पनि सक्रिय रहेको आरोप लगाए। यस्ता गतिविधिले देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने खतरा रहेको उनको चेतावनी छ।

उनले नेपाली जनतालाई समयमै सचेत हुन आह्वान गर्दै भने, “विदेशी शक्तिको दलाली गरेर देशमा आगो लगाउनेहरूप्रति कठोर बन्नु आजको आवश्यकता हो।” दाहालका अनुसार राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न जनस्तरबाट स्पष्ट र दृढ भूमिका आवश्यक भइसकेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button