ग्रीनल्याण्डमाथि अमेरिकी दाबी अस्वीकार्य : डेनमार्ककी प्रधानमन्त्री

कोपनहेगन । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले संयुक्त राज्य अमेरिकालाई ग्रीनल्याण्डलाई गाभ्ने (annex) कुनै अधिकार नरहेको स्पष्ट गर्दै वाशिङ्टनलाई नजिकको सहयोगी र ग्रीनल्याण्डवासीमाथि धम्की दिन बन्द गर्न आग्रह गरेकी छन्।

आइतबार जारी वक्तव्यमा प्रधानमन्त्री फ्रेडरिक्सनले “म यो कुरा संयुक्त राज्य अमेरिकालाई अत्यन्त स्पष्ट रूपमा भन्न चाहन्छु,” भन्दै डेनमार्कको अधिराज्य अन्तर्गत पर्ने डेनमार्क, ग्रीनल्याण्ड र फारो टापुहरूमध्ये कुनै पनि भूभागमाथि अमेरिका कब्जा जमाउन नसक्ने बताइन्। उनका अनुसार ग्रीनल्याण्डलाई अमेरिकाले नियन्त्रणमा लिनु आवश्यक छ भन्ने धारणा पूर्ण रूपमा अस्वीकार्य छ।

प्रधानमन्त्री फ्रेडरिक्सनले ग्रीनल्याण्ड सहितको डेनमार्क अधिराज्य नाटोको सदस्य भएकाले सामूहिक सुरक्षा प्रत्याभूतिको दायराभित्र रहेको उल्लेख गरिन्। उनले डेनमार्क र अमेरिकाबीच रहेको रक्षा सम्झौताले नै अमेरिकालाई ग्रीनल्याण्डमा पर्याप्त पहुँच उपलब्ध गराइसकेको पनि बताइन्।

उनले ऐतिहासिक रूपमा नजिकको सहयोगी राष्ट्रमाथि तथा “बेच्न नमिल्ने” भनेर स्पष्ट गरिसकेको अर्को देश र त्यहाँका जनतामाथि धम्की दिनु अनुचित हुने टिप्पणी गरिन्।

प्रधानमन्त्री फ्रेडरिक्सनको प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार द अटलान्टिक पत्रिकासँगको टेलिफोन अन्तर्वार्तामा अमेरिकालाई “निश्चय नै” ग्रीनल्याण्ड आवश्यक रहेको बताए पछि आएको हो। सोही अन्तर्वार्तामा ट्रम्पले भेनेजुएलामा अमेरिकी हस्तक्षेपबारे पनि चर्चा गरेका थिए।

गत महिना राष्ट्रपति ट्रम्पले लुइजियाना राज्यका गभर्नर जेफ ल्यान्ड्रीलाई ग्रीनल्याण्डका लागि अमेरिकी विशेष दूत नियुक्त गर्ने घोषणा गरेपछि वाशिङ्टन र डेनमार्क अधिराज्यबीच कूटनीतिक तनाव पुनः चर्किएको थियो।

जनवरी २०२५ मा दोस्रो कार्यकाल सम्हालेयता ट्रम्पले पटक–पटक ग्रीनल्याण्डमाथि नियन्त्रण हासिल गर्ने इच्छा व्यक्त गर्दै आएका छन्। यसका लागि “सैन्य वा आर्थिक दबाब” प्रयोग गर्ने विकल्प पनि नकार्न नसकिने उनको भनाइ रहँदै आएको छ।

पूर्व डेनिस उपनिवेश रहेको ग्रीनल्याण्ड सन १९५३ मा डेनमार्क अधिराज्यको अभिन्न अंग बनेको हो। सन १९७९ मा स्वशासन पाएको यस टापुले आन्तरिक रूपमा व्यापक स्वायत्तता प्रयोग गर्दै आएको छ भने विदेश नीति र रक्षा सम्बन्धी अधिकार भने अझै डेनमार्ककै हातमा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button