म्याड्रिडस्थित अमेरिकी दूतावास अगाडि भेनेजुएलाको समर्थनमा प्रदर्शन

म्याड्रिड । युरोपमा बसोबास गर्ने ल्याटिन अमेरिकी आप्रवासी तथा उनीहरूका सन्ततिहरू, साथै स्पेनी समर्थकहरू आइतबार स्पेनको राजधानी म्याड्रिडस्थित अमेरिकी दूतावास अगाडि भेला भई भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको विरोधमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले विभिन्न ल्याटिन अमेरिकी देशका झण्डा बोकेर भेनेजुएलाको सार्वभौमिकताको समर्थनमा नारा लगाएका थिए।
प्रदर्शनमा एन्डियन पान फ्लुटको सङ्गीतले वातावरण सिर्जना गरेको थियो। परम्परागत एन्डियन सङ्गीत समूहका सदस्य तथा पेरुभियन आप्रवासीका सन्तान अल्बर्टो काल्देरोनले सङ्गीतको ताल सम्हाल्दै सहभागीहरूलाई एकताबद्ध नारा लगाउन नेतृत्व गरेका थिए। उनले एन्डियन उच्च भूभागमा जन्मिएको यो सङ्गीत पेरु, बोलिभिया, इक्वेडर तथा अर्जेन्टिना र चिलीका केही भागमा साझा सांस्कृतिक विरासतका रूपमा फैलिएको र आधुनिक राष्ट्रिय सीमाभन्दा अघिदेखि अस्तित्वमा रहेको बताए। उनका अनुसार यही सङ्गीतलाई भेनेजुएलाको वर्तमान परिस्थितिप्रति ऐक्यबद्धता जनाउने माध्यमका रूपमा प्रयोग गरिएको हो।
“भेनेजुएला, अमर राष्ट्र,” प्रदर्शनकारीहरूले नाराबाजी गरे। “तपाईंको प्रतिरोधमा विश्वका जनता तपाईंको साथमा छन्।”
प्रदर्शनमा सहभागी अरासेली मुन्योस रोजासले आफू भेनेजुएलामाथि अमेरिकी सैन्य हस्तक्षेपको विरोध गर्न र्यालीमा सहभागी भएको बताइन्। उनले यसलाई अन्तर्राष्ट्रिय कानुन र राष्ट्रिय सार्वभौमिकताको उल्लङ्घन भएको आरोप लगाइन्। यस्तै, स्पेन–अर्जेन्टिना दोहोरो नागरिकता भएका मिगेल सान्चेजले बाह्य हस्तक्षेपले समग्र ल्याटिन अमेरिकामै खतरनाक नजिर बस्न सक्ने चेतावनी दिए।
र्यालीको अन्त्यतिर सङ्गीत र नाराहरू बिस्तारै शान्त भए पनि सहभागीहरूले ऐक्यबद्धता र ल्याटिन अमेरिकामा बारम्बार देखिएको विदेशी हस्तक्षेपको ऐतिहासिक स्मृतिलाई जीवित राख्नुपर्ने आवश्यकता औंल्याए। “समय बिते पनि म तपाईंलाई बिर्सन सक्दिनँ, यो असम्भव छ,” भन्दै सहभागीहरूले सामूहिक गीत गाएका थिए।
यसैबीच, शनिबार संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि ठूलो सैन्य आक्रमण गरेको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ खातामा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई “पक्राउ गरी देश बाहिर लगिएको” उल्लेख गरेका छन्।
अमेरिकी सैन्य कारबाहीको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा भइरहेको छ। विभिन्न देशहरूले भेनेजुएलाको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गर्दै समन्वित वैश्विक प्रतिक्रिया आवश्यक रहेको बताएका छन्।





