चीन–आयरल्यान्ड सम्बन्ध सुदृढ बनाउनेमा सहमति, चीन–ईयू सहकार्यलाई नयाँ गति दिने अपेक्षा

बेइजिङ — चीनका राष्ट्रपति सी जिनपिङले आयरल्यान्डसँग रणनीतिक संवाद सुदृढ गर्दै राजनीतिक आपसी विश्वास गहिरो पार्ने र व्यावहारिक सहकार्य विस्तार गर्न चीन इच्छुक रहेको बताएका छन्। यसले दुवै देशका जनतालाई लाभ पुर्याउने र चीन–युरोपियन संघ (ईयू) सम्बन्धलाई थप गति दिने राष्ट्रपति सीको भनाइ छ।
सोमबार बेइजिङमा आयरल्यान्डका प्रधानमन्त्री (ताओइसेख) माइकल मार्टिनसँगको भेटमा राष्ट्रपति सीले आर्थिक तथा व्यापारिक सहकार्य विस्तार, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, औषधि तथा स्वास्थ्यजस्ता क्षेत्रमा विकास रणनीतिहरूको समन्वय, दुईतर्फी लगानी प्रवर्द्धन र साझा विकासतर्फ अघि बढ्ने विषयमा जोड दिए।
उनले शिक्षा, संस्कृति र पर्यटन क्षेत्रमा सहकार्य बढाउँदै जनस्तरको सम्बन्ध सुदृढ गर्नुपर्ने बताए। साथै, चीनले अध्ययन र आदान–प्रदानका लागि थप आयरिश युवालाई स्वागत गर्ने पनि स्पष्ट गरे।
राष्ट्रपति सीका अनुसार चीन र आयरल्यान्ड दुवैले बहुपक्षीयताको समर्थन गर्छन् र अन्तर्राष्ट्रिय न्याय तथा निष्पक्षताको पक्षमा उभिन्छन्। उनले अन्तर्राष्ट्रिय मामिलामा समन्वय र सहकार्य बढाउँदै संयुक्त राष्ट्रसंघको अधिकार कायम राख्न र विश्व शासन प्रणालीलाई अझ न्यायोचित र समावेशी बनाउन दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिए।
चीन–ईयू सम्बन्धबारे बोल्दै राष्ट्रपति सीले दीर्घकालीन दृष्टिकोण अपनाउँदै साझेदारीको आधार कायम गर्न, मतभेदलाई वस्तुनिष्ठ र विवेकपूर्ण रूपमा व्यवस्थापन गर्दै ‘विन–विन’ सहकार्यतर्फ अघि बढ्नुपर्ने बताए। यसै वर्षको दोस्रो छमाहीमा आयरल्यान्डले ईयूको घुम्ती अध्यक्षता सम्हाल्ने सन्दर्भमा उनले चीन–ईयू सम्बन्धको स्वस्थ र स्थिर विकासमा आयरल्यान्डले रचनात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
भेटमा प्रधानमन्त्री माइकल मार्टिनले आयरल्यान्डले ‘वन–चाइना’ नीतिलाई दृढतापूर्वक समर्थन गर्दै आएको र चीनसँग पारस्परिक लाभमा आधारित रणनीतिक साझेदारी विकास गर्न प्रतिबद्ध रहेको बताए। उनले व्यापार, लगानी, विज्ञान तथा प्रविधि, जैव–चिकित्सा, नवीकरणीय ऊर्जा, कृत्रिम बुद्धिमत्ता, शिक्षा लगायतका क्षेत्रमा चीनसँग सहकार्य गहिर्याउन आयरल्यान्ड इच्छुक रहेको उल्लेख गरे।





