बेइजिङमा चीन–दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता, सम्बन्ध पूर्ण रूपमा सामान्यीकरणतर्फ

बेइजिङ — चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङबीच सोमबार बेइजिङमा औपचारिक वार्ता सम्पन्न भएको छ। वार्तामा दुवै पक्षले चीन–दक्षिण कोरिया सम्बन्धलाई मैत्रीपूर्ण सहयोग, पारस्परिक लाभ र रणनीतिक साझेदारीको स्वस्थ दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रपति सीले आफू र राष्ट्रपति लीबीच यसअघि दुई पटक भेटघाट र पारस्परिक भ्रमण भइसकेको उल्लेख गर्दै यसले दुवै देशले द्विपक्षीय सम्बन्धलाई दिएको उच्च प्राथमिकता झल्काउने बताए। छिमेकी र मित्र राष्ट्रका रूपमा चीन र दक्षिण कोरियाले आवागमन बढाउन र नियमित संवाद कायम राख्नुपर्नेमा उनले जोड दिए। चीनले सधैं दक्षिण कोरियासँगको सम्बन्धलाई क्षेत्रीय कूटनीतिमा उच्च स्थान दिएको र नीतिगत निरन्तरता तथा स्थिरता कायम राख्दै आएको सीको भनाइ थियो।
सीले द्वितीय विश्वयुद्धको विजयबाट प्राप्त उपलब्धिहरूको संरक्षण र उत्तरपूर्वी एसियामा शान्ति तथा स्थिरता कायम राख्न दुवै देशले हातेमालो गर्नुपर्ने बताए। जापानी सैन्यवादविरुद्ध लडाइँमा दुवै मुलुकका जनताले ८० वर्षअघि ठूलो बलिदान दिएर विजय हासिल गरेको स्मरण गर्दै उनले इतिहासको सही पक्षमा उभिएर रणनीतिक रूपमा सही निर्णय गर्नुपर्नेमा जोड दिए।
दक्षिण कोरियाका राष्ट्रपति लीले चिनियाँ जनतालाई नयाँ वर्षको शुभकामना दिँदै चीन र दक्षिण कोरिया नजिकका छिमेकी र ऐतिहासिक रूपमा जोडिएका राष्ट्र भएको बताए। जापानी सैन्य आक्रमणविरुद्ध संयुक्त संघर्षको इतिहास उल्लेख गर्दै उनले चीनमा रहेका कोरियाली स्वतन्त्रता आन्दोलनसँग सम्बन्धित ऐतिहासिक स्थलहरूको संरक्षणप्रति चीनलाई धन्यवाद दिए। उनले दक्षिण कोरियाले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिने र मतभेद रहँदा पनि सामान्य आधार खोज्दै रणनीतिक सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए। साथै, दक्षिण कोरियाले ‘एक चीन’ नीतिप्रति प्रतिबद्धता कायम राख्ने स्पष्ट पारे।
वार्तापछि राष्ट्रपति सी र लीले विज्ञान–प्रविधि नवप्रवर्तन, वातावरण संरक्षण, यातायात, अर्थतन्त्र तथा व्यापारलगायत क्षेत्रमा १५ वटा सहकार्यसम्बन्धी दस्तावेजमा हस्ताक्षर भएको अवलोकन गरे। राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनले राष्ट्रपति ली र उनकी पत्नीको सम्मानमा ग्रेट हल अफ द पिपुलमा स्वागत भोजसमेत आयोजना गरे।
सोही दिन चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ र राष्ट्रपति लीको उपस्थितिमा चीन–दक्षिण कोरिया व्यापार फोरम पनि सम्पन्न भयो, जसमा दुवै देशका सरकार र व्यवसायिक क्षेत्रका करिब ४ सय प्रतिनिधि सहभागी थिए। कार्यक्रममा राष्ट्रपति लीले “चीन र दक्षिण कोरिया एउटै समुद्रमा एउटै दिशातर्फ अघि बढिरहेका जहाजहरू हुन्” भन्दै आपसमा जोडिएका औद्योगिक आपूर्ति शृङ्खलाले दुवै देशको विकास र विश्व अर्थतन्त्रमा योगदान पुर्याएको बताए।
दक्षिण कोरियाली नेताको यो भ्रमण नौ वर्षयताकै पहिलो राजकीय चीन भ्रमण हो भने पछिल्ला करिब दुई महिनामा दुई नेताबीचको दोस्रो भेट हो। विज्ञहरूले यस भ्रमणलाई अघिल्लो प्रशासनकालमा चिसिएको सम्बन्धपछि चीन–दक्षिण कोरिया सम्बन्ध पूर्ण रूपमा सामान्यीकरणतर्फ फर्किएको संकेतका रूपमा व्याख्या गरेका छन्। चीनलाई २०२६ को पहिलो राजकीय भ्रमण गन्तव्य बनाइनुले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा दक्षिण कोरियाले कूटनीतिक लचिलोपन बढाउन खोजेको संकेतसमेत दिएको विश्लेषण छ।
भ्रमणका क्रममा राष्ट्रपति लीले सामाजिक सञ्जालमार्फत राष्ट्रपति सी र उनकी पत्नीसँग खिचिएको ‘सेल्फी’ पनि सार्वजनिक गरेका छन्, जसले जनस्तरमा समेत ध्यान आकर्षित गरेको छ। चिनियाँ सामाजिक सञ्जाल वेइबोमा उनको भ्रमणसम्बन्धी भिडियोहरू व्यापक रूपमा फैलिएका छन्।
मंगलबार राष्ट्रपति ली शाङ्घाई जाने कार्यक्रम छ। त्यहाँ उनले जापानी उपनिवेशकालका कोरियाली स्वतन्त्रता सेनानीहरूको ऐतिहासिक केन्द्रका रूपमा रहेको शाङ्घाईमा स्वतन्त्रता सेनानी किम कुको जन्मको १५०औँ वार्षिकोत्सव र शाङ्घाई अस्थायी सरकार स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रमहरूमा सहभागी हुनेछन्। विज्ञहरूका अनुसार साझा ऐतिहासिक स्मृतिको पुनःस्मरणले द्विपक्षीय भावनात्मक सम्बन्ध, रणनीतिक विश्वास र क्षेत्रीय शान्तिको आधारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।





