एकपक्षीय दादागिरीविरुद्ध सी जिनपिङ, बहुपक्षीय विश्व व्यवस्थाको पक्षमा चीन–आयरल्याण्ड

बेइजिङ— चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका सबै देशहरूले एक–अर्काका जनताले रोजेका विकासका मार्गको सम्मान गर्नुपर्ने र संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने बताएका छन्। प्रमुख शक्तिशाली राष्ट्रहरूले यसमा उदाहरणीय भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
सोमबार आयरल्याण्डका प्रधानमन्त्री (ताओइसेक) माइकल मार्टिनसँग बेइजिङमा भएको भेटमा राष्ट्रपति सीले विश्व अहिले परिवर्तन र अव्यवस्थाले घेरिएको अवस्थामा रहेको उल्लेख गर्दै एकपक्षीय र दादागिरीपूर्ण कदमहरूले अन्तर्राष्ट्रिय व्यवस्था गम्भीर रूपमा कमजोर बनाइरहेको बताए। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीको यो अभिव्यक्ति अमेरिकी सेनाको भेनेजुएलामा गरिएको सैन्य कारबाही, राष्ट्रपति निकोलस मादुरोको पक्राउ र त्यसपछिको घटनाक्रमबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू—सीएनएन र स्पेनको एल मुन्डो लगायत—ले व्यापक रूपमा रिपोर्ट गरिरहेका बेला आएको हो।
सीले चीन र आयरल्याण्ड दुवैले बहुपक्षीयतालाई समर्थन गर्ने र अन्तर्राष्ट्रिय निष्पक्षता तथा न्यायको पक्षमा उभिने साझा दृष्टिकोण राख्ने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको अधिकार र भूमिकालाई मजबुत बनाउन अन्तर्राष्ट्रिय मामिलामा समन्वय र सहकार्य बढाउन आग्रह गरे। विश्व शासन प्रणालीलाई अझ न्यायोचित र समावेशी बनाउनु आवश्यक रहेको उनको भनाइ थियो।
सिन्ह्वाका अनुसार प्रधानमन्त्री मार्टिनले चीन अन्तर्राष्ट्रिय मामिलामा अपरिहार्य र महत्वपूर्ण भूमिका खेल्ने देश भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको अधिकार जोगाउन र विश्व शान्ति प्रवर्द्धनमा चीनले सकारात्मक योगदान दिएको बताए। उनले आयरल्याण्ड चीनसँग नजिकको संवाद र समन्वय कायम राख्न, अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्न, स्वतन्त्र तथा खुला व्यापारलाई समर्थन गर्न र विश्व समृद्धि तथा स्थिरताका लागि सहकार्य गर्न इच्छुक रहेको बताए।
जनवरी ४ देखि ८ सम्म चीन भ्रमणमा रहेका मार्टिन पछिल्ला १४ वर्षयता चीन भ्रमण गर्ने पहिलो आयरिश प्रधानमन्त्री हुन्। सन् २०२६ मा चीन भ्रमण गर्ने उनी पहिलो युरोपेली मुलुकका सरकार प्रमुखसमेत हुन्। बेइजिङको औपचारिक कार्यक्रमपछि उनले सांघाइ भ्रमण गर्ने कार्यक्रम रहेको छ।
भेटमा राष्ट्रपति सीले चीन आयरल्याण्डसँग रणनीतिक संवाद सुदृढ गर्न, राजनीतिक विश्वास गहिरो बनाउन र व्यवहारिक सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए। यसले दुवै देशका जनतालाई फाइदा पुर्याउनुका साथै चीन–युरोपेली संघ (ईयू) सम्बन्धमा पनि नयाँ ऊर्जा थप्ने उनको भनाइ थियो। उनले कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, औषधि र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा विकास रणनीति मिलाउँदै आर्थिक तथा व्यापारिक सहकार्य विस्तार गर्ने प्रस्ताव गरे।
शिक्षा, संस्कृति र पर्यटनमा सहकार्य बढाउँदै जनस्तरको सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिँदै सीले चिनियाँ विश्वविद्यालय र संस्थामा अध्ययन तथा आदानप्रदानका लागि थप आयरिश युवालाई स्वागत गरिने बताए।
प्रधानमन्त्री मार्टिनले आयरल्याण्ड ‘एक–चीन नीति’प्रति दृढ रहेको स्पष्ट गर्दै चीनसँग पारस्परिक लाभमा आधारित रणनीतिक साझेदारी विकास गर्न प्रतिबद्ध रहेको बताए। उनले व्यापार, लगानी, विज्ञान तथा प्रविधि, जैव–चिकित्सा, नवीकरणीय ऊर्जा, कृत्रिम बुद्धिमत्ता र शिक्षा लगायतका क्षेत्रमा सहकार्य गहिर्याउन आयरल्याण्ड इच्छुक रहेको जनाए।
सांघाइ अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालयकी शोधकर्ता वाङ हानीका अनुसार चीन–आयरल्याण्ड सहकार्य रणनीतिक पूरकता र नवप्रवर्तनमुखी दृष्टिकोणले परिचालित छ। कम–कार्बन प्रविधि, कृषि प्रविधि र स्मार्ट सिटी जस्ता उदीयमान क्षेत्रमा द्विपक्षीय सहकार्य तीव्र रूपमा विस्तार हुने अपेक्षा गरिएको छ। दीर्घकालमा सीमा–पार डाटा प्रवाह, एआई मापदण्ड र औषधि नियमनको आपसी मान्यतामा प्रगति भए चीन–आयरल्याण्ड सहकार्य चीन–ईयू सम्बन्धका लागि नमुना क्षेत्र बन्न सक्ने उनको भनाइ छ।
विश्वव्यापी भू–राजनीतिक द्वन्द्व र आर्थिक खण्डीकरणको पृष्ठभूमिमा चीन र आयरल्याण्डले संयुक्त राष्ट्रसंघ केन्द्रित बहुपक्षीय प्रणालीमा जोड दिनु एकपक्षीय दादागिरीको स्पष्ट अस्वीकार भएको बेइजिङ फरेन स्टडीज विश्वविद्यालयका प्राध्यापक चुई होङजियानले बताए। केही प्रमुख शक्तिहरूका गैरजिम्मेवार कदमका कारण शान्ति र सुरक्षा तथा विश्व शासनका विषयमा चीन, आयरल्याण्ड र युरोपबीच सहमति र समन्वय झनै आवश्यक भएको उनको भनाइ छ।
चीन हाल आयरल्याण्डको एसियामा सबैभन्दा ठूलो व्यापारिक साझेदार र विश्वस्तरमा पाँचौँ ठूलो साझेदार हो। चिकित्सकीय उपकरण, औषधि, कम्प्युटर सेवा र कृषि उत्पादन आयरल्याण्डबाट चीन निर्यात हुने प्रमुख वस्तु हुन्। आगामी जुलाईदेखि युरोपेली संघको घुम्ती अध्यक्षता सम्हाल्न लागिरहेको आयरल्याण्डले ईयू–चीन सम्बन्ध मजबुत पार्नु प्राथमिकतामा राख्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीन–ईयू सम्बन्धबारे राष्ट्रपति सीले दीर्घकालीन दृष्टिकोण राख्दै साझेदारीको आधारमा सहकार्य अघि बढाउन र मतभेदलाई वस्तुगत तथा संयमित रूपमा व्यवस्थापन गर्नुपर्ने बताए। आयरल्याण्डले ईयू अध्यक्षता सम्हाल्दा चीन–ईयू सम्बन्धलाई स्वस्थ र स्थिर दिशामा अघि बढाउन रचनात्मक भूमिका खेल्ने चीनको अपेक्षा रहेको उनले स्पष्ट पारे।





