इजरायलद्वारा लेबनानमा हवाई आक्रमण, चार गाउँमा घर ध्वस्त

तेल अवीव/बेरुत — इजरायली सेनाले सोमबार लेबनानमा हिज्बुल्लाह र हमाससँग सम्बन्धित ठेगानामाथि हवाई आक्रमण गरेको जनाएको छ। इजरायली सेनाका अनुसार युद्धविरामसम्बन्धी समझदारीहरू निरन्तर उल्लंघन भइरहेकाले आक्रमण गर्नुपरेको हो।

यसअघि जारी विज्ञप्तिमा इजरायली सेनाले दक्षिणी लेबनानका अनान र कफारहात्ता गाउँ, साथै देशको पूर्वी सीमावर्ती क्षेत्र नजिक पर्ने अल–मनारा र ऐन अल–तिनाहमा रहेका केही भवनहरूलाई लक्षित गरिने चेतावनी दिएको थियो।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले चारवटै क्षेत्रमा इजरायली हवाई आक्रमण भएको पुष्टि गर्दै चार वटा घर पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ। आक्रमणका कारण नजिकका आवासीय घर, सवारी साधन तथा पसलहरूमा गम्भीर क्षति पुगेको समाचारमा उल्लेख छ। कफारहात्तामा प्रहार गरिएको एक क्षेप्यास्त्र भने विस्फोट हुन नसकी सडक अवरुद्ध भएको जनाइएको छ।

लेबनानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले इजरायली लडाकु विमानले ती क्षेत्रमा कुल १० पटक हवाई आक्रमण गरेको जनाएको छ। स्रोतका अनुसार अल–मनारामा लक्षित गरिएको घर हमासका नेता शरहबिल अल–सय्यदको स्वामित्वमा रहेको थियो, जो सन् २०२४ मा इजरायली आक्रमणमा मारिएका थिए।

आक्रमणअघि इजरायली सेनाले ती क्षेत्रका बासिन्दालाई सम्बन्धित भवनहरू खाली गर्न चेतावनी दिएको थियो। ती भवनहरू हमास र हिज्बुल्लाहले प्रयोग गर्दै आएको दाबी इजरायली सेनाको छ।

अमेरिका र फ्रान्सको मध्यस्थतामा नोभेम्बर २७, २०२४ देखि हिज्बुल्लाह र इजरायलबीच युद्धविराम लागू भए पनि इजरायली सेनाले बेला–बेला लेबनानमा हवाई आक्रमण गर्दै आएको छ। इजरायलले ती आक्रमणहरूलाई हिज्बुल्लाहबाट उत्पन्न हुने “सुरक्षा खतरा” हटाउने उद्देश्यसहित गरिएको दाबी गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button