चीन–दक्षिण कोरिया रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति

बेइजिङ — चिनियाँ राष्ट्रपति सी जिनपिङ र कोरिया गणतन्त्र (दक्षिण कोरिया) का राष्ट्रपति ली जे म्युङबीच सोमबार बेइजिङमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ। वार्तामा दुबै देशले द्विपक्षीय रणनीतिक साझेदारी सुदृढ गर्ने, व्यवहारिक सहकार्य विस्तार गर्ने तथा बहुपक्षीय समन्वय मजबुत बनाउने सहमति गरेका छन्।

राष्ट्रपति ली जे म्युङ पदभार सम्हालेपछि चीनको यो पहिलो औपचारिक भ्रमण हो। यसअघि पनि दुबै राष्ट्रप्रमुखबीच दुईपटक भेटवार्ता र पारस्परिक भ्रमण भइसकेका छन्, जसले चीन–दक्षिण कोरिया सम्बन्धलाई दुबै पक्षले उच्च प्राथमिकता दिएको संकेत गर्दछ।

वार्ताका क्रममा राष्ट्रपति सी जिनपिङले चीनले दक्षिण कोरियासँगको सम्बन्धलाई सधैं क्षेत्रीय कूटनीतिक एजेन्डामा उच्च स्थान दिएको उल्लेख गर्दै नीतिगत निरन्तरता र स्थिरता कायम राखेको बताए। उनले आपसी हित र ‘विन–विन’ सिद्धान्तमा आधारित मित्रवत सहकार्यलाई मजबुत बनाउँदै द्विपक्षीय रणनीतिक साझेदारीलाई स्वस्थ दिशामा अगाडि बढाउन चीन तयार रहेको स्पष्ट पारे। यसले दुबै देशका जनताको हित अभिवृद्धि गर्नुका साथै क्षेत्रीय तथा विश्व शान्ति र विकासमा सकारात्मक योगदान पुर्‍याउने उनले बताए।

सीले आपसी विश्वास सुदृढ गर्न, एकअर्काको विकास मार्गको सम्मान गर्न, मूल हित र गम्भीर चासोलाई सम्बोधन गर्न तथा संवाद र परामर्शमार्फत मतभेद समाधान गर्न आग्रह गरे।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले वर्षको पहिलो राष्ट्रप्रमुखस्तरीय कूटनीतिक भेटलाई द्विपक्षीय सम्बन्धको समग्र पुनरुत्थान र विकासलाई थप संस्थागत गर्ने अवसरका रूपमा लिने बताए। मतभेद सुरक्षित राख्दै साझा बिन्दु खोज्ने नीति अवलम्बन गर्दै कोरिया–चीन रणनीतिक सहकार्यलाई नयाँ चरणमा पुर्‍याउने उनको भनाइ थियो। उनले चीनका मूल हित र प्रमुख चासोलाई सम्मान गर्ने र ‘एक–चीन नीति’प्रति दक्षिण कोरियाको प्रतिबद्धता दोहोर्‍याए।

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका वरिष्ठ अध्येता डोङ स्याङरोङले राष्ट्रप्रमुखस्तरीय कूटनीतिले चीन–दक्षिण कोरिया सम्बन्धमा मार्गनिर्देशक भूमिका खेलेको बताए। यसले राजनीतिक विश्वास बढाउन र आर्थिक तथा व्यापारिक सहकार्य विस्तार गर्न सकारात्मक सन्देश दिएको उनको टिप्पणी थियो। उनले ताइवानसम्बन्धी प्रश्नसहित दुबै पक्षका प्रमुख चासोलाई समायोजन गर्दै स्थिर सहकार्य कायम राख्नुपर्ने आवश्यकता औंल्याए।

चीन र दक्षिण कोरियाबीच आर्थिक सम्बन्ध गहिरो रहेको र उद्योग तथा आपूर्ति श्रृंखला आपसमा गाँसिएको उल्लेख गर्दै राष्ट्रपति सीले यस सहकार्यलाई अझ फराकिलो बनाउनुपर्ने बताए। कृत्रिम बुद्धिमत्ता, हरित उद्योग र ‘सिल्भर इकोनोमी’ जस्ता नयाँ क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रस्ताव उनले अघि सारे।

राष्ट्रपति लीले चीनसँगको आर्थिक तथा व्यापारिक सहकार्यले दुबै देशको सामाजिक–आर्थिक विकासमा सकारात्मक भूमिका खेलेको बताउँदै चीनको १५औँ पञ्चवर्षीय योजनाबाट सिर्जना हुने अवसर उपयोग गर्न दक्षिण कोरिया इच्छुक रहेको जनाए।

वार्तापछि राष्ट्रपति सी र लीको उपस्थितिमा विज्ञान तथा प्रविधि नवप्रवर्तन, वातावरण संरक्षण, यातायात, आर्थिक र व्यापारिक सहकार्यलगायत क्षेत्रमा १५ वटा सहकार्यसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरिएको छ।

चीन अन्तर्राष्ट्रिय अध्ययन संस्थानका अनुसन्धानकर्ता याङ सियुयीले चीन–दक्षिण कोरिया कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आर्थिक र व्यापारिक सहकार्य द्विपक्षीय सम्बन्धको स्थिर आधार र प्रेरक शक्ति रहँदै आएको बताए। उनले अर्थतन्त्र, व्यापार र प्रविधिमा केन्द्रित सहकार्यलाई थप सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे।

राष्ट्रपति सीले चीन र दक्षिण कोरियाको क्षेत्रीय शान्ति कायम राख्ने र विश्व विकास प्रवर्द्धन गर्ने साझा जिम्मेवारी रहेको उल्लेख गर्दै इतिहासको सही पक्षमा उभिएर रणनीतिक निर्णय लिनुपर्ने बताए। उनले दोस्रो विश्वयुद्धमा जापानी सैन्यवादविरुद्ध दुबै राष्ट्रका जनताले दिएको बलिदान स्मरण गर्दै उत्तरपूर्वी एसियाको शान्ति र स्थिरता जोगाउन सहकार्य आवश्यक रहेको जोड दिए।

वैश्विकरणका लाभग्राही राष्ट्रका रूपमा चीन र दक्षिण कोरियाले संरक्षणवादको विरोध गर्दै साँचो बहुपक्षीयताको अभ्यास गर्नुपर्ने सीको भनाइ थियो। राष्ट्रपति लीले पनि चीनसँग बहुपक्षीय समन्वय मजबुत बनाउने प्रतिबद्धता जनाउँदै यस वर्ष आयोजना हुने एशिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गरे।

विश्लेषक डोङका अनुसार पछिल्लो समय जापानी सैन्यवाद पुनः सक्रिय हुने संकेत देखिएकाले चीन र दक्षिण कोरियाले क्षेत्रीय शान्ति, स्वतन्त्र व्यापार र संरक्षणवादविरुद्ध साझा धारणा कायम राख्न आवश्यक छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button