लाइभस्ट्रिमिङ ई–कमर्स र अनलाइन प्लेटफर्म कडाइका साथ नियमन गर्दै चीन

बेइजिङ — चीनका बजार नियामक निकाय र साइबरस्पेस व्यवस्थापन अधिकारीहरूले बुधबार लाइभस्ट्रिमिङ ई–कमर्स क्षेत्र र अनलाइन कारोबार प्लेटफर्मलाई थप व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित दुई छुट्टाछुट्टै नियमावली सार्वजनिक गरेका छन्।
राज्य बजार नियमन प्रशासन (State Administration of Market Regulation) र साइबरस्पेस प्रशासन अफ चाइना (Cyberspace Administration of China) ले संयुक्त रूपमा जारी गरेको लाइभस्ट्रिमिङ ई–कमर्ससम्बन्धी नयाँ नियमले यस क्षेत्रमा संलग्न सबै पक्षका दायित्व र व्यवहारगत ‘रेडलाइन’ स्पष्ट रूपमा निर्धारण गरेको छ।
नयाँ व्यवस्था अनुसार लाइभस्ट्रिमिङ कक्ष सञ्चालन गर्ने संस्था तथा प्रचार–प्रसारमा संलग्न व्यक्तिहरूले झुटो विज्ञापन, व्यावसायिक बदनाम, अवैध वस्तु तथा सेवाको बिक्रीजस्ता गतिविधि गर्न नपाउने व्यवस्था गरिएको छ। यस्ता गतिविधिलाई कडाइका साथ प्रतिबन्ध गरिएको छ।
त्यसैगरी, अर्को नियमावली अनलाइन कारोबार प्लेटफर्मको सञ्चालनसम्बन्धी आचारसंहितामा केन्द्रित छ। यसको उद्देश्य अनलाइन व्यापारलाई व्यवस्थित बनाउनुका साथै सबै सरोकारवालाको वैध अधिकार र हितको संरक्षण गर्नु हो।
नियमावलीअनुसार अनलाइन प्लेटफर्महरूले आफ्नै नियमको आडमा व्यवसायिक गतिविधिमा अनुचित प्रतिबन्ध लगाउन, अस्वाभाविक शुल्क असुल्न, उपभोक्ताको अधिकार सीमित गर्न, डेटा प्रयोग गरी मूल्य विभेद गर्न वा सदस्यतासम्बन्धी सर्तहरू एकतर्फी रूपमा परिवर्तन गर्न पाउने छैनन्।
नियमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न बजार नियामक र साइबरस्पेस अधिकारीहरूबीच सूचनाको आदान–प्रदान र संयुक्त परामर्शमार्फत अन्तर–विभागीय सहकार्य बढाइने बताइएको छ। साथै, अनलाइन प्लेटफर्महरूलाई आत्म–मूल्याङ्कन गर्न र नियमित रूपमा अनुपालन प्रतिवेदन सार्वजनिक गर्न पनि प्रोत्साहित गरिएको छ।
चीन सरकारले डिजिटल अर्थतन्त्रको तीव्र विस्तारसँगै अनलाइन व्यापार र लाइभस्ट्रिमिङ ई–कमर्स क्षेत्रमा देखिएका अव्यवस्थालाई नियन्त्रण गर्दै पारदर्शिता र उपभोक्ता संरक्षणलाई बलियो बनाउने संकेतका रूपमा यस कदमलाई हेरिएको छ।





