खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ, गोली प्रहारपछि नियन्त्रणमा लिइयो

नेपालगञ्ज/बाँके — लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार भारतको उत्तर प्रदेश, बहराइच जिल्ला लौकाही बस्ने ३३ वर्षीय फिरोज खानलाई विशेष सूचनाको आधारमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११, लालपुर नजिकबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले आज मिति २०८२/०९/२३ गते साँझ करिब ५ः४५ बजे खानलाई पक्राउ गर्ने क्रममा उनी भाग्न खोजेपछि नियन्त्रणका लागि दुई राउण्ड गोली प्रहार गरेको जनाएको छ। तीमध्ये एक राउण्ड खानको दाहिने खुट्टामा लागेको र अर्को नलागेको प्रहरीले जानकारी दिएको छ। त्यसपछि उनलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अनुसार खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा खानले लगाएको पाइन्टको दाहिने खल्तीभित्रबाट खैरो हेरोइन बरामद गरिएको थियो। डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित २८३ ग्राम र प्लास्टिक हटाउँदा शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। साथै, उनीबाट तीन थान मोबाइल फोन पनि बरामद गरिएको छ।
पक्राउ परेका खान र बरामद लागू औषधसहितको सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बर्दियामा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।





