अमेरिकाले अन्तर्राष्ट्रिय जलमा रूसी तेल ट्यांकर जफ्त गर्यो, रूसले समुद्री कानून उल्लंघनको आरोप लगाएको छ

मस्को / वाशिङटन, जनवरी ८। अमेरिकी सेनाको युरोपियन कमान (युकम)ले अमेरिकी प्रतिबन्ध उल्लंघनको आधारमा रूसमा दर्ता भएको तेल ट्यांकर एमभी बेला १ (मरिनेरा) जफ्त गरेको घोषणा गरेको छ। यसको प्रतिक्रियामा रूसले जहाजसँग सम्पर्क टुटेको पुष्टि गर्दै अमेरिकाको कारबाहीलाई अन्तर्राष्ट्रिय समुद्री कानूनको घोर उल्लंघन भनेको छ।
युकमले बुधबार एक्स (पूर्व ट्विटर) मार्फत जहाज जफ्त गरिएको जानकारी दिँदै यो कारबाही अमेरिकी फेडरल अदालतबाट जारी वारेन्टको आधारमा गरिएको बताएको हो। अल जजीराको अनुसार, अमेरिकी तटरक्षक जहाज युएससिजिसी मुनरोले ट्यांकरलाई उत्तर अटलान्टिकमा ट्रयाक गरी जफ्त गरेको हो।
यसको लगत्तै रूसी परिवहन मन्त्रालयले ट्यांकरसँगको सम्पर्क विच्छेद भएको घोषणा गर्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “१९८२ को संयुक्त राष्ट्र समुद्री कानून सम्झौताअनुसार अन्तर्राष्ट्रिय जलमा नौवहन स्वतन्त्रता लागू हुन्छ र कुनै पनि राष्ट्रले अरू देशमा दर्ता भएको जहाजमा बल प्रयोग गर्न पाउँदैन।”
रूसी विदेश मन्त्रालयले पनि घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै अमेरिकालाई जहाजमा रहेका रूसी नागरिकसँग मानवीय व्यवहार गर्न र उनीहरूलाई शीघ्र रूपमा फर्काउन बाधा नपुथ्याउन आग्रह गरेको छ। टास्स समाचार एजेन्सीले उल्लेख गरे अनुसार, मन्त्रालयले अमेरिकालाई “मरिनेराबाट रूसी नागरिकहरूको छिटो फर्काइमा बाधा नदिने” अनुरोध गरेको छ।
सिन्हुआ समाचार एजेन्सीको रिपोर्ट अनुसार, भेनेजुएलामा तेल लोड गर्ने तालिकामा रहेको यो ट्यांकर अमेरिकी नाकाबन्दीका कारण डक गर्न असमर्थ भएको थियो। डिसेम्बरमा अमेरिकी तटरक्षकद्वारा ट्रयाक गरिएपछि खाली ट्यांकरले आफ्नो हलमा रूसी झण्डा राखेको, नाम परिवर्तन गरेको र दर्ता स्थान पनि रूसमा सारेको थियो। अमेरिकी तटबाट करिब ४,००० किलोमिटर टाढा रहेतापनि यो जहाज लामो समयदेखि अमेरिकी तटरक्षकको निगरानीमा रहेको थियो।
यो घटनाले अन्तर्राष्ट्रिय जलमा महाशक्तिको प्रतिस्पर्धा र समुद्री कानूनको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको छ। रूसले यसलाई कानूनी आधारविहीन कारबाही भनेको छ भने अमेरिकाले आफ्नो प्रतिबन्ध कार्यान्वयनको दावी गरेको छ।





