रेशमसँगको सम्बन्धबारे गलत व्याख्या गरिएको रञ्जिताको गुनासो

नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रञ्जिता श्रेष्ठले रेशम चौधरीसँगको राजनीतिक असमझदारीलाई घर झगडाका रूपमा प्रचार गरिएको भन्दै गुनासो गरेकी छन् ।
राजनीतिक असहमति र परिस्थितिजन्य मतभेदलाई श्रीमान्-श्रीमतीको झगडा भनी गलत प्रचार गरेर थारूको मुद्दालाई कमजोर बनाउन खोजिएको उनको जिकिर छ । सामाजिक सञ्जालमार्फत् उनले यसतर्फ सबैको ध्यानाकर्षणसमेत गराएकी छन् ।
रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पुस १४ गते नेकपामा समाहित भइसकेको छ भने रेशमले नागरिक उन्मुक्ति पार्टी नेपाल नामक छुट्टै दल खोलेको अवस्था छ ।
‘म र रेशमजीको झगडा घरायसी विवाद भएको भए त्यो त्यो अंश मुद्दा, बहुविवाह मुद्दा वा व्यक्तिगत कानुनी विवादका रूपमा देखिन्थ्यो होला’, उनले भनेकी छन्, ‘तर यस्ता कुनै पनि मुद्दा छैनन्, किनकि यहाँ व्यक्तिगत झगडा थिएन, राजनीतिक असहमति र परिस्थितिजन्य मतभेदलाई श्रीमान श्रीमतीको झगडामा झार्नु तर्कको होइन, राजनीतिक असफलता र कायरताको प्रमाण हो।’
रेशम पक्षका नेताले झुटा कथा बनाएर आफूमाथि प्रहार गरिरहेको पनि रञ्जिताको आरोप छ । ‘हिजो दाइ–भाउजू भन्दै हिँड्नेहरूलाई पनि सोध्न चाहन्छु, त्यो बेला मिलाउने, संवाद गराउने, जिम्मेवारी लिने ठाउँमा तपाईंहरूले के भूमिका खेल्नुभयो ? अहिले परिस्थिति गाह्रो देख्दा आगोमा घ्यू हाल्न दौडिनु नैतिकता होइन’, उनले थपेकी छन् ।
पूर्वमन्त्री समेत रहेकी रञ्जिताले आफू बाध्यात्मक परिस्थितले मात्र राजनीतिमा आएकोसमेत बताएकी छन् । टिकापुर घटनाको एजेण्डा र उपलब्धीलाई संस्थागत गर्ने प्रयास गर्दागर्दै नेता बन्नु परेको उनको प्रष्टोक्ति छ ।
Jana Aastha





