पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस
सम्पादकीय

राष्ट्रवाद केवल शब्दमा सीमित हुँदैन; यो कार्य र अनुभूतिको मिश्रण हो। “जहाँ राष्ट्रको बिउ रोपियो, त्यहीँ उभिएर राष्ट्रिय झण्डा बोक्नुको छुट्टै सन्तुष्टि हुने रहेछ।” जब हामी आफ्नो भूमिमा, आफ्नो इतिहास र संस्कृतिसँग जोडिएको गर्व अनुभव गर्छौँ, तब मात्र राष्ट्रप्रतिको प्रेम र प्रतिबद्धता साँच्चिकै महसुस हुन्छ।
इतिहासले प्रमाणित गरेको छ कि साना तर साहसी गोर्खा राज्यले सीमित जनसंख्या र साधनका बाबजुद विश्व विजेता अंग्रेज फौजसँग ‘मल्टीफ्रन्ट’ युद्धमा सामना गर्न सक्ने क्षमता राख्थ्यो। त्याे बडामहाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्व र याेगदानबाट मात्रै सम्भव भएको हो। पृथ्वीनारायण शाहले साना राज्यहरूलाई एकीकृत गर्दै आधुनिक नेपाल निर्माण गर्ने मार्ग प्रशस्त गर्नु भएको थियो। उहाँको नीति, दूरदर्शिता र सङ्गठित रणनीतिले गोर्खा फौजलाई शक्तिशाली बनायो, जसले इतिहासमा नेपाललाई केवल भौगोलिक रुपमा सुरक्षित राख्नु मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा सम्मान र प्रभावको आधार पनि दिलायो। यही साहस र दृढ अडानले हामीलाई आज “वीर नेपाली” भन्ने गौरवको आधार दिएको हो।
समय परिवर्तन भए पनि, पृथ्वीनारायण शाहले देखाएको दृष्टि, दिएको दिब्य-उपदेश र गोर्खा युद्धशास्त्र आधुनिक नेपालका लागि सिकाइको स्रोत हुन्। सीमित स्रोतको बुद्धिमानी प्रयोग, बहु-फ्रन्ट चुनौती व्यवस्थापन, र जनताको मनोबल उच्च राख्ने कला, यी सबै कुरा आजको राष्ट्रिय एकता र समृद्धि सुनिश्चित गर्ने मार्गदर्शन हुन्।
हामी आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाइरहेका छौँ। यो केवल औपचारिक उत्सव होइन; यो हाम्रो ऐतिहासिक पहिचान, साझा जिम्मेवारी र पुर्खाहरूको संघर्ष, अझ विशेष गरी पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वको सम्मान गर्ने दिन हो। जब हामी राष्ट्रिय झण्डा बोकेर उभिन्छौँ, हामी केवल कपडाको झण्डा मात्र होइन, हाम्रा पूर्खाहरूको त्याग, साहस र बलिदानको प्रतीकलाई पनि सम्मान गर्दैछौँ।
अन्तर्राष्ट्रिय दृष्टिकोणले हेर्दा पनि, सानो राष्ट्रका लागि राष्ट्रभक्ति र एकता नै सुरक्षा, पहिचान र स्थायित्वको मूल आधार हुन्। साना राष्ट्रहरूले आफ्नै सीमितता भित्र पनि बलियो राष्ट्रिय पहिचान निर्माण गर्न सक्छन्, जसरी गोर्खा राज्य र पृथ्वीनारायण शाहले इतिहासमा देखाएको छ।
आजको दिन सम्पूर्ण नेपालीजनका लागि अवसर हो, आफ्नो साझा इतिहास सम्झन, राष्ट्रिय एकता मजबुत पार्न र भविष्यका चुनौती सामना गर्न साहस जुटाउन।
पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना!





