इरानमा हिंसा बढे अमेरिकाले कडा हस्तक्षेप गर्ने ट्रम्पको चेतावनी

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी प्रदर्शनका क्रममा सरकारी पक्षबाट नागरिकमाथि हत्या हुन थाले अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। यद्यपि, उनले अमेरिकी स्थलसेना इरानमा नपठाइने स्पष्ट पारेका छन्।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, “यदि उनीहरूले मानिसहरू मार्न थाले भने हामी हस्तक्षेप गर्छौं।” तर उनले यो हस्तक्षेप सैनिक बुटसहितको युद्ध नहुने स्पष्ट गर्दै भने, “यसको अर्थ जमिनमा सेना उतार्नु होइन, तर उनीहरूलाई सबैभन्दा पीडा हुने ठाउँमा कडा प्रहार गर्नु हो।”

ट्रम्प प्रशासनका अन्य वरिष्ठ अधिकारीहरूले पनि यसअघि बारम्बार इरानी सुरक्षाबलले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या गरेमा वाशिङ्टनले कडा कदम चाल्ने चेतावनी दिँदै आएका छन्।

यसैबीच, इरानको विदेश मन्त्रालयले अमेरिकी प्रशासनका अभिव्यक्तिलाई “हस्तक्षेपकारी र भ्रमपूर्ण” भन्दै कडा निन्दा गरेको छ। मन्त्रालयले ती टिप्पणीहरू इरानी जनताप्रति अमेरिकाको निरन्तर शत्रुताको प्रतिबिम्ब भएको आरोप लगाएको छ।

गत डिसेम्बरको अन्त्यदेखि इरानका विभिन्न सहरमा राष्ट्रिय मुद्राको तीव्र अवमूल्यन र दीर्घकालीन आर्थिक संकटविरुद्ध प्रदर्शन हुँदै आएका छन्। इरानी अधिकारीहरूले प्रदर्शन भएको स्वीकार गर्दै आर्थिक समस्या समाधानका लागि तत्परता व्यक्त गरेका छन्, तर हिंसा र तोडफोडप्रति कडा चेतावनी पनि दिएका छन्।

विभिन्न स्रोतका अनुसार प्रदर्शन सुरु भएयता प्रदर्शनकारी र सुरक्षाकर्मी गरी दर्जनौँ मानिसको ज्यान गएको छ। यद्यपि, मृतकको आधिकारिक संख्या सार्वजनिक गरिएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button