चीन–अफ्रिका मित्रता अझ मजबुत बनाउन चिनियाँ विदेशमन्त्री वाङ यीको आह्वान

दार एस सलाम — चिनियाँ विदेशमन्त्री वाङ यीले अफ्रिकी मुलुकहरूसँगको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार तान्जानियाको दार एस सलाममा तान्जानियाका विदेश तथा पूर्वी अफ्रिकी सहकार्य मन्त्री महमुद थाबित कोम्बोसँग भएको भेटवार्तामा उनले चीन–अफ्रिका सम्बन्ध ऐतिहासिक रूपमा बलियो र दीर्घकालीन रहेको बताएका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यसमेत रहेका वाङ यीले चीन र तान्जानियाबीचको परम्परागत मित्रता समयको परीक्षामा खरो उत्रिएको उल्लेख गरे। भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सन २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले अफ्रिकाको पहिलो भ्रमणका क्रममा तान्जानियालाई प्रमुख गन्तव्यका रूपमा रोज्दै चीनको अफ्रिका नीतिमा ‘इमानदारी, वास्तविक परिणाम, मैत्रीभाव र सद्भाव’का सिद्धान्त अघि सारेको स्मरण गराए। उक्त पहलले चीन–अफ्रिका सम्बन्धको इतिहासमा नयाँ कोसेढुंगा थपेको उनको भनाइ थियो।

यस वर्षको भ्रमणले चीनका विदेशमन्त्रीहरूले लगातार ३६ वर्षदेखि वर्षको सुरुवातमा अफ्रिकालाई पहिलो विदेश भ्रमण गन्तव्य बनाउँदै आएको परम्परालाई निरन्तरता दिएको वाङ यीले बताए। उनले यो अभ्यास भविष्यमा पनि निरन्तर कायम रहने स्पष्ट पारे।

वाङ यीका अनुसार चीन–अफ्रिका सहकार्य दक्षिण–दक्षिण सहकार्यको महत्वपूर्ण अङ्ग हो, जसमा आन्तरिक ऊर्जा सबल र विकासको सम्भावना उज्यालो छ। उनले चीन–अफ्रिका मित्रता र आपसी विश्वासका आधारलाई तीन मुख्य पक्षमा संक्षेप गरे।

पहिलो, न्यायको संयुक्त संरक्षण। वाङले चीन र अफ्रिकी देशहरू साम्राज्यवाद र उपनिवेशवादविरुद्धको संघर्ष, राष्ट्रिय मुक्ति तथा विकास र पुनर्जागरणको यात्रामा काँधमा काँध मिलाएर उभिएको इतिहास स्मरण गराए। आज पनि दुवै पक्षले आ–आफ्ना मूल हितसँग सम्बन्धित विषयमा एकअर्कालाई दृढ समर्थन गर्दै आएको र विश्व दक्षिणका साझा हित र विकासोन्मुख मुलुकहरूको वैध अधिकारको रक्षा गर्दै विश्वमा स्थायित्व प्रदान गर्ने भूमिका खेलेको उनले बताए।

उनले चीन तान्जानियाको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको संरक्षणमा साथ दिने, तान्जानियाली जनतालाई आफ्नै राष्ट्रिय अवस्था अनुकूल विकास मार्ग रोज्न समर्थन गर्ने र कुनै पनि बहानामा बाह्य हस्तक्षेपको विरोध गर्ने स्पष्ट पारे।

दोस्रो, साझा प्रगतितर्फको अग्रसरता। वाङ यीले राष्ट्रपति सी जिनपिङले चीन र अफ्रिकालाई छ विशेषतायुक्त आधुनिकीकरणलाई संयुक्त रूपमा अघि बढाउन र नयाँ युगका लागि साझा भविष्यसहितको सर्वकालीन चीन–अफ्रिका समुदाय निर्माणको प्रस्ताव गरेको उल्लेख गरे। यसले दक्षिण–दक्षिण सहकार्यका लागि स्पष्ट दिशा प्रदान गरेको उनको भनाइ थियो। उनले चीन–तान्जानिया सम्बन्ध द्विपक्षीय सीमाभन्दा बाहिर विस्तार हुँदै विश्व दक्षिणको सामूहिक उदयको ऐतिहासिक प्रवाहसँग मेल खाएको बताए।

तेस्रो, पारस्परिक लाभको वकालत। चीन र अफ्रिकाले आधुनिकीकरणतर्फ अघि बढ्दा पारस्परिक लाभ र जित–जित सहकार्यलाई केन्द्रमा राखेको वाङले बताए। चीन अफ्रिकी देशहरूसँग विकास रणनीति अझ नजिकबाट समन्वय गर्दै बेइजिङमा सम्पन्न चीन–अफ्रिका सहकार्य फोरमको शिखर सम्मेलनका उपलब्धिहरूलाई अफ्रिकामा छिटो र व्यापक रूपमा कार्यान्वयन गर्न तयार रहेको उनले बताए। कृषि, खानी र उत्पादनजस्ता क्षेत्रमा सहकार्य गहिरो बनाउँदै आधुनिकीकरणको यात्रामा सँगै अघि बढ्ने चीनको प्रतिबद्धता उनले दोहोर्याए।

वाङ यीले दुई महिनाअघि चीन, तान्जानिया र जाम्बियाका नेताहरूको मार्गदर्शनमा तान्जानिया–जाम्बिया रेलमार्ग पुनर्जीवन परियोजनाको औपचारिक सुरुआत भएको स्मरण गराए। चीन तान्जानियासँग मिलेर उक्त रेलमार्गको पुनर्जीवन अघि बढाउने, रेलमार्ग वरपर समृद्धिको मार्ग निर्माण गर्ने र यसलाई तान्जानियाको विकासका लागि नयाँ इञ्जिनमा रूपान्तरण गर्दै चीन–तान्जानिया व्यापक रणनीतिक सहकार्य साझेदारीलाई निरन्तर सुदृढ र विस्तार गर्दै लैजाने उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button