ताइवान चीनको अभिन्न अङ्ग, बाह्य हस्तक्षेप अस्वीकार्य : चिनियाँ विदेश मन्त्रालय

बेइजिङ — ताइवान चीनको अभिन्न भू–भाग भएको र ताइवान सम्बन्धी प्रश्न पूर्ण रूपमा चीनको आन्तरिक मामिला भएको चीनले पुनः स्पष्ट पारेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शुक्रबार नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेकी हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानसँग सम्बन्धित विषयमा हालै दिएको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै प्रवक्ता माओले ताइवान प्रश्न समाधान गर्ने अधिकार चिनियाँ जनताकै हातमा रहेको बताइन्। उनले यस विषयमा कुनै पनि बाह्य हस्तक्षेपको कुनै स्थान नरहेको स्पष्ट पारिन्।
“ताइवान प्रश्न समाधान गर्नु चिनियाँ जनताको आफ्नै विषय हो, यसमा बाहिरी शक्तिको हस्तक्षेप स्वीकार्य छैन,” माओ निङले भनिन्।
चीनले ताइवानलाई आफ्नो सार्वभौम क्षेत्रको अविभाज्य हिस्सा मान्दै आएको छ र ‘एक चीन नीति’ प्रति आफ्नो अडान निरन्तर दोहोर्याउँदै आएको छ। हालै अमेरिकी नेतृत्वबाट आएका अभिव्यक्तिप्रति चीनले यसरी कडा प्रतिक्रिया जनाउनुले ताइवान प्रश्नलाई लिएर बेइजिङ संवेदनशील रहेको संकेत गर्छ।
विश्लेषकहरूका अनुसार ताइवानलाई लिएर चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आउन थालेको छ, जसले क्षेत्रीय राजनीति र कूटनीतिमा थप चासो र तनाव सिर्जना गर्न सक्ने देखिन्छ।





