इरानविरुद्ध कडा विकल्पहरू विचाराधीन, सैन्य कारबाही पनि सम्भावित : ट्रम्प

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानविरुद्ध “अत्यन्त कडा विकल्पहरू” विचार गरिरहेको बताएका छन्, जसमा सम्भावित सैन्य कारबाही पनि समावेश हुन सक्ने संकेत दिएका छन्।
एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले प्रतिक्रिया उत्पन्न गर्ने ‘रेड लाइन’ पार गरिसकेको हो कि भन्ने प्रश्नमा भने, “उनीहरू त्यसतर्फ अघि बढिरहेका छन् जस्तो देखिन्छ।”
ट्रम्पका अनुसार, इरानको अवस्थालाई गम्भीर रूपमा मूल्याङ्कन गरिँदैछ। “हामी यसलाई निकै गम्भीर रूपमा हेरिरहेका छौँ। सेनाले पनि अध्ययन गरिरहेको छ, र हामीसँग धेरै कडा विकल्पहरू छन्। निर्णय लिइनेछ,” उनले भने।
राष्ट्रपतिले इरानको अवस्थाबारे आफूले घण्टैपिच्छे जानकारी पाइरहेको पनि बताएका छन्। साथै, ट्रम्पले इरानी नेताहरूले आफूलाई सम्पर्क गरी वार्ताको इच्छा व्यक्त गरेको खुलासा गरेका छन्। “इरानका नेताहरूले फोन गरे। उनीहरू वार्ता गर्न चाहन्छन्,” ट्रम्पले भने।
वाल स्ट्रिट जर्नलका अनुसार, ट्रम्पलाई मंगलबार इरानको अशान्तिबारे प्रतिक्रिया दिने विभिन्न विकल्पहरूबारे जानकारी दिइनेछ। उक्त बैठकमा विदेश मन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ र संयुक्त सेनाध्यक्ष समितिका अध्यक्ष जनरल ड्यान केन सहभागी हुने अपेक्षा गरिएको छ। यद्यपि, छलफल प्रारम्भिक चरणमै रहेकाले सो बैठकमा अन्तिम निर्णय नहुने जनाइएको छ।
रिपोर्टअनुसार, ट्रम्प प्रशासनका सम्भावित विकल्पहरूमा इरानविरोधी अनलाइन स्रोतहरूलाई प्रवर्द्धन गर्ने, इरानी सैन्य तथा नागरिक संरचनामाथि साइबर आक्रमण गर्ने, थप प्रतिबन्ध लगाउने, सैन्य आक्रमण गर्ने तथा इलोन मस्कको स्वामित्वमा रहेको स्टारलिंक उपग्रह इन्टरनेट सेवाका टर्मिनलहरू इरान पठाउने विकल्पसमेत रहेका छन्।
पेन्टागनले भने सम्भावित सैन्य आक्रमणको तयारीस्वरूप हालसम्म कुनै सैन्य बल स्थानान्तरण नगरेको जनाएको छ। रिपोर्टअनुसार, आक्रमण मात्र होइन, मध्यपूर्वमा रहेका अमेरिकी फौजहरूको सुरक्षा सुनिश्चित गर्न पनि आवश्यक तयारी गर्नुपर्ने हुन्छ।
हालै अमेरिकाले विमानवाहक युद्धपोत USS Gerald R. Ford र यसको स्ट्राइक समूहलाई भूमध्यसागरबाट ल्याटिन अमेरिकातर्फ सारिएको छ, जसका कारण मध्यपूर्व र युरोप दुवै क्षेत्रमा हाल कुनै अमेरिकी विमानवाहक जहाज छैन।
यसैबीच, इरानको संसदका सभामुखले आइतबार अमेरिकाले पहिला कारबाही गरेमा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गर्ने चेतावनी दिएको बताइएको छ।
विदेश मन्त्री रुबियोले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग इरान, सिरिया र अन्य मध्यपूर्वी विषयमा टेलिफोन वार्ता गरेका थिए।
ट्रम्पले शुक्रबार अमेरिकाले इरानमा स्थल सेना (boots on the ground) नपठाउने स्पष्ट पारेका थिए। “यदि उनीहरूले विगतमा जस्तै मानिसहरू मार्न थाले भने हामी हस्तक्षेप गर्छौँ। तर त्यसको अर्थ स्थल सेना पठाउनु होइन, उनीहरूलाई निकै कडा रूपमा चोट पुर्याउनु हो,” ट्रम्पले भने।
इरानमा डिसेम्बर अन्त्यदेखि राष्ट्रिय मुद्राको तीव्र अवमूल्यन र लामो समयदेखिको आर्थिक संकटका कारण विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ। ती प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या बढिरहेको जनाइएको छ।





