चीनसँगको तनाव कम गर्न जापानी अर्थविद र उद्योगीहरूको आग्रह

आपूर्ति शृंखला र अर्थतन्त्रमा गम्भीर असरको चेतावनी

टोकियो – जापानका अर्थविद र उद्योग क्षेत्रका अगुवाहरूले चीनसँग बढ्दो तनाव कम गर्न कूटनीतिक पहल तीव्र पार्न सरकारलाई आग्रह गरेका छन्। चीनले हालै जापानतर्फ हुने द्वैध–प्रयोग (dual-use) सामग्रीको निर्यातमा प्रतिबन्ध लगाएपछि जापानको आपूर्ति शृंखला प्रभावित हुने र अर्थतन्त्रमा गम्भीर धक्का पुग्ने चिन्ता बढेको छ।

मंगलबार चीनले तत्काल लागू हुने गरी जापानतर्फ द्वैध–प्रयोग सामग्रीको निर्यातमा रोक लगाएको घोषणा गरेको थियो। यो निर्णय जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवान सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिप्रति प्रतिक्रियास्वरूप आएको जनाइएको छ। ताकाइचीले ताइवान स्ट्रेटमा सम्भावित सैन्य हस्तक्षेपको संकेत गरेकी थिइन्, जसलाई चीनले गम्भीर रूपमा आपत्तिजनक मानेको छ।

द्वैध–प्रयोग सामग्री भनेका त्यस्ता वस्तु, सफ्टवेयर वा प्रविधि हुन्, जसको प्रयोग नागरिक र सैन्य दुवै क्षेत्रमा हुन सक्छ। चीनको प्रतिबन्ध जापानी सैन्य प्रयोग, सैन्य प्रयोगलाई सहयोग पुर्‍याउने अन्तिम प्रयोगकर्ता, तथा जापानको सैन्य क्षमता बढाउने उद्देश्यसँग सम्बन्धित सबै निर्यातमा लागू हुने जनाइएको छ।

चीन डेलीलाई जानकारी दिने स्रोतका अनुसार, चीनले जापानतर्फ जाने केही दुर्लभ पृथ्वी (rare earth) सम्बन्धी सामग्रीमा पनि निर्यात अनुमति झन कडाइका साथ समीक्षा गर्ने सम्भावना विचार गरिरहेको छ।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार जारी वक्तव्यमा यो निर्णय टोकियोको पुनःसैन्यीकरण र परमाणु हतियारतर्फको झुकाव रोक्ने उद्देश्यले लिइएको भन्दै यसलाई “पूर्ण रूपमा वैध, तर्कसंगत र कानुनी” कदम भएको दाबी गरेको छ।

होसेई विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक हिरोशी शिरातोरीका अनुसार, सुरक्षा र अर्थतन्त्र आपसमा गहिरो रूपमा जोडिएका विषय हुन् र तिनलाई छुट्याएर हेर्न सकिँदैन। उनका अनुसार, यस अवस्थालाई केवल दुर्लभ पृथ्वीको आपूर्ति अवरुद्ध हुँदा पर्ने अल्पकालीन आर्थिक असरका रूपमा मात्र नभई, जापानले आफ्ना विगतका नीतिहरू पुनः मूल्याङ्कन गर्ने अवसरका रूपमा लिनुपर्छ।

शिरातोरीले जापान सरकारले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने प्रयास गर्ने सम्भावना रहेको बताए पनि, प्रधानमन्त्री ताकाइचीका ताइवान सम्बन्धी टिप्पणी फिर्ता नलिएसम्म गतिरोध तोडिन कठिन हुने स्पष्ट पारे। उनका शब्दमा, “कूटनीतिक प्रयास हुनेछ, तर ती अभिव्यक्ति नसच्याएसम्म निर्णायक प्रगति कठिन छ।”

मध्यम र दीर्घकालीन दृष्टिकोणबाट हेर्दा, यो अवस्थाले जापानको आर्थिक वृद्धिदर सुस्त बनाउन सक्ने शिरातोरीको चेतावनी छ। चीनको विश्वास पुनः हासिल गर्न जापानले अब कसरी प्रतिक्रिया जनाउँछ, त्यसैमा भविष्य निर्भर रहने उनले बताए।

रिक्क्यो विश्वविद्यालयको अर्थशास्त्र संकायका वरिष्ठ प्राध्यापक याङचुन क्वाकका अनुसार, यदि चीनको निर्यात नियन्त्रण २०२६ पछिसम्म कायम रह्यो वा थप विस्तार गरियो भने जापानको आर्थिक वृद्धिको अनुमान तल झारिन सक्ने जोखिम निकै बढ्नेछ।

उनका अनुसार सेमिकन्डक्टर, इलेक्ट्रोनिक कम्पोनेन्ट र विद्युतीय सवारीसाधनजस्ता जापानका प्रमुख वृद्धि उद्योगहरू कच्चा पदार्थ र महत्त्वपूर्ण पार्टपुर्जाको आपूर्ति अनिश्चित बनेपछि लगानी निर्णयमा अझ सतर्क हुनेछन्। यसले घरेलु र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा जोखिमबोध पनि तीव्र बनाउनेछ।

दुर्लभ पृथ्वी र त्यससँग सम्बन्धित सामग्री कडा नियन्त्रणमा परेमा सबैभन्दा पहिले अटोमोबाइल, इलेक्ट्रोनिक्स र नवीकरणीय ऊर्जा क्षेत्र प्रभावित हुने क्वाकको भनाइ छ। यी उद्योगका लागि दुर्लभ पृथ्वी अपरिहार्य रहेको र विश्व उत्पादन तथा आपूर्तिमा चीनको प्रभुत्व भएकाले नियन्त्रण कडा हुँदा जापानी कम्पनीहरू उच्च लागत, उत्पादन अवरोध र वैकल्पिक प्रविधिमा थप लगानीको दबाबमा पर्नेछन्।

आसाही शिम्बुन पत्रिकाका अनुसार, जापानले वर्षौंदेखि दुर्लभ पृथ्वी आयातको स्रोत विविधीकरण गर्ने प्रयास गरे पनि सन २०२४ सम्म चीनमाथिको निर्भरता करिब ७२ प्रतिशत नै रहेको छ।

यस कारण जापानी उद्योग क्षेत्रमा आपूर्ति अवरोधको त्रास स्पष्ट रूपमा देखिन थालेको छ। ६० वर्षभन्दा बढी इतिहास बोकेको म्याग्नेट निर्माता हिमेजी डेन्सीले आफ्ना करिब ७० प्रतिशत उत्पादन चीनस्थित कारखाना मार्फत गरिरहेको छ। कम्पनीका समारियम र नियोडिमियम म्याग्नेट सेन्सर, एयरोस्पेस, परमाणु सम्बन्धी उपकरण र विद्युतीय सवारीमा प्रयोग हुन्छन्, जसको नागरिक र सैन्य दुवै उपयोग छ।

टीभी आसाहीसँगको अन्तर्वार्तामा कम्पनी अध्यक्ष शिगेआकि अमिजिमाले कच्चा पदार्थ आपूर्ति अवरुद्ध भएमा कम्पनी दुई महिनाभन्दा बढी टिक्न नसक्ने चेतावनी दिएका छन्। “त्यसपछि के हुन्छ भन्ने कुरा पूर्ण रूपमा अनुमान बाहिर छ,” उनले भने। उनका अनुसार सबैभन्दा ठूलो जोखिम लागत वृद्धि होइन, आवश्यक सामग्री नै नपाएर उत्पादन रोकिने अवस्था हो।

यसैबीच, फर्निचर दिग्गज नितोरी होल्डिङ्सका अध्यक्ष अकियो नितोरीले पनि फ्रिज, टेलिभिजन र वाशिङ मेसिनजस्ता उत्पादनमा दुर्लभ पृथ्वी प्रयोग हुने भन्दै आपूर्ति अवरोधको सम्भावनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

टेरा नेक्सस प्रोजेक्ट म्यानेजमेन्ट सर्भिसेसका सीईओ तथा अर्थविद हिदेतोशी ताशिरोका अनुसार, चीनबाहेक अन्य देशबाट सामग्री खरिद गर्दा लागत उल्लेख्य रूपमा बढ्नेछ, किनकि चीन जत्तिको उत्पादन क्षमता कुनै पनि देशसँग छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button