नेपाली कांग्रेसद्वारा पार्टी एकता र अनुशासन कायम गर्न हार्दिक अपिल

काठमाडौं / नेपाली कांग्रेसले देशको वर्तमान राजनीतिक अवस्था गम्भीर रहेको जनाउँदै पार्टीभित्र एकता, अनुशासन र संयम कायम गर्न सबै नेता–कार्यकर्तालाई हार्दिक अपिल गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरबाट जारी अपिलमा प्रतिनिधि सभा विघटन भइसकेको र देश अन्योल तथा अनिश्चिततामा रहेको उल्लेख गरिएको छ।

अपिलमा आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको सन्दर्भ उल्लेख गर्दै संविधानलाई लिखित रुपमा मात्रै नभई लोकतान्त्रिक अभ्यासमार्फत जोगाउन आवश्यक रहेको बताइएको छ। यस्तो संवेदनशील अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अपरिहार्य रहेको केन्द्रीय कार्यालयको भनाइ छ।

दस्तावेजमा नेपाली कांग्रेसले देशमा उत्पन्न राजनीतिक संकटका बेला इतिहासका विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्यांकन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गराइएको छ। कांग्रेस राष्ट्रवाद र लोकतन्त्रको ऐतिहासिक धरोहरका रूपमा स्थापित भएकाले वर्तमान अवस्थामा पनि पार्टीमाथि विशेष ऐतिहासिक जिम्मेवारी आएको उल्लेख गरिएको छ।

अपिलमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि २०८३ सालमा हुने पार्टीको १५औँ महाधिवेशनमार्फत नीति, नेतृत्व र संगठनमा आवश्यक सुधार तथा परिमार्जन गर्न सकिने अवस्था सुनिश्चित हुने बताइएको छ। तर त्यसअघिसम्म पार्टीभित्र आन्तरिक विवाद, असमझदारी र असहमतिलाई थाती राखी निर्वाचन अभियानमा पूर्ण एकताका साथ लाग्न आग्रह गरिएको छ।

नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्य, पदाधिकारी, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्र, पालिका तथा वडा तहका नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाहरूलाई देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र कुनै किसिमको असहज अवस्था सिर्जना नगर्न अपिल गरिएको छ। पार्टी एकतालाई कमजोर पार्ने गतिविधिले समग्र पार्टी र लोकतान्त्रिक व्यवस्थामाथि नकारात्मक असर पार्ने चेतावनीसमेत दिइएको छ।

केन्द्रीय कार्यालयद्वारा जारी अपिलमा पार्टीका सबै संरचना र तहहरूलाई आपसी समझदारी, संयम र जिम्मेवारीका साथ अघि बढ्न अनुरोध गरिएको छ। अपिलमा पार्टीलाई एकताबद्ध राख्दै लोकतन्त्र, स्थायित्व र देशको भविष्य सुरक्षित गर्न सबै कांग्रेसजन एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

उक्त अपिल नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा हस्ताक्षरित छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button