कांग्रेसको संकट समाधानतर्फ देउवाको पहल, संवाद र सहमतिलाई प्राथमिकता

काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी विशेष महाधिवेशनका कारण उत्पन्न आन्तरिक संकट समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवाले संवाद र सहमतिलाई प्राथमिकता दिँदै सक्रिय पहल थालेका छन्। पार्टीलाई विभाजनको जोखिमबाट जोगाउन र एकताबद्ध रूपमा अगाडि बढाउन सभापति देउवा नेतृत्वको संस्थापन पक्षले वार्ता, बैठक र रणनीतिक निर्णयहरूलाई तीव्र बनाएको छ।

विशेष महाधिवेशन पक्षधरको तर्फबाट सभापति देउवा समूहसँग औपचारिक वार्ता गर्न चार सदस्यीय समिति गठन गरिएको छ। समितिमा प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे रहेका छन्। देउवा पक्षबाट भने स्वयम् सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का वार्तामा सहभागी हुने तय भएको छ। दुवै पक्षबीच छिट्टै संवाद गरेर सहमतिको बिन्दु खोज्ने र पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने प्रयास भइरहेको नेताहरूले बताएका छन्।

यसैक्रममा पार्टी सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलपछि विशेष महाधिवेशनको बन्दसत्र स्थगित गर्ने निर्णय गरेका छन्। देउवाले उक्त निर्णय आगामी रणनीति तय गर्न र पार्टीभित्र देखिएको विवादलाई सहमतिमार्फत समाधान गर्न लिइएको स्पष्ट पारेका छन्। पार्टीभित्र संवादको वातावरण सिर्जना गर्ने उद्देश्यले गरिएको यो कदमले कांग्रेसभित्र सौहार्दपूर्ण समाधानको अपेक्षा बढाएको छ।

पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चर्किरहेका बेला, पूर्व महामन्त्री कृष्ण सिटौला नेतृत्वको तथाकथित ‘छ भाइ’ समूहले सभापति देउवालाई आफ्नै कार्यकर्तासँग संवाद गर्न अवरोध गरिरहेको आरोप संस्थापन पक्षको छ। यस समूहमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, विजय गच्छदार र प्रकाशशरण महत रहेका छन्। यद्यपि, यसअघि सो समूहमा रहेका गोपालमान श्रेष्ठ नयाँ नेतृत्व चयनको पक्षमा उभिँदै अलग धारमा देखिएका छन्।

यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा विशेष महाधिवेशनसँग जोडिएका समग्र विषय, पार्टीको भावी रणनीति र संगठनात्मक निर्णयहरूमा छलफल हुनेछ। संस्थापन पक्षले सम्भव भए विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा सीमित राख्ने र सहमति नभए पार्टी अनुशासनअनुसार कारबाहीको निर्णय गर्ने तयारी गरेको बुझिएको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनलाई पार्टीको आधिकारिक निर्णयविपरीतको भेला भएको टिप्पणी गर्दै यसले कांग्रेसलाई विभाजनको दिशामा लैजान सक्ने चेतावनी दिएका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि अपिल जारी गर्दै पार्टीलाई विभाजनतर्फ लैजाने गतिविधि नगर्न आग्रह गरेका छन्।

संस्थापनइतर समूहका नेता शेखर कोइरालाले समेत सभापति देउवासँग भेट गरी “पार्टी फुट्ने अवस्था आउन सक्छ, मिलाउनुस्” भन्दै चिन्ता व्यक्त गरेका छन्। यो भेटलाई पार्टी एकताको पक्षमा सकारात्मक संकेतका रूपमा हेरिएको छ।

उता, संस्थापन पक्षले जिल्ला–जिल्लामा सर्कुलर जारी गर्दै अनुशासनविपरीत गतिविधिमा संलग्न हुनेहरूलाई कारबाही हुन सक्ने चेतावनी दिएको छ। यसका कारण संस्थापन पक्षीय अधिकांश जिल्ला सभापति र केन्द्रीय सदस्यहरू विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छैनन्।

समग्रमा, नेपाली कांग्रेस असजिलो मोडमा पुगेको भए पनि सभापति शेरबहादुर देउवाले संयम, संवाद र सहमतिमार्फत पार्टीलाई जोगाउने प्रयासलाई तीव्र बनाएका छन्। संस्थापन पक्षको बुझाइमा, भावनात्मक विद्रोहभन्दा संस्थागत निर्णय र अनुशासनमार्फत मात्रै कांग्रेसलाई एकताबद्ध र बलियो बनाउन सकिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button