आतंकवादी आक्रमणका पीडितको सम्झनामा अस्ट्रेलियामा जनवरी २२ मा राष्ट्रिय शोक दिवस

क्यानबेरा — अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सिड्नीको बन्डी बीचमा भएको आतंकवादी आक्रमणका पीडितहरूको सम्मानमा आगामी जनवरी २२ मा राष्ट्रिय शोक दिवस मनाइने घोषणा गरेकाे सिन्ह्वाले जनाएको छ।
सिन्ह्वाका अनुसार मंगलबार क्यानबेरास्थित संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री अल्बानीजले जनवरी २२ का दिन अस्ट्रेलियाभरका सबै सरकारी भवनमा झण्डा आधा झुकाइने जानकारी दिए। गत डिसेम्बर १४ मा यहूदी पर्व हानुक्काको अवसरमा आयोजित कार्यक्रमलाई लक्षित गर्दै बन्डी बीचमा आक्रमण भएको थियो।
प्रधानमन्त्रीका अनुसार शोक दिवस “लाइट विल विन” (प्रकाशले जित्नेछ) भन्ने मूल नाराका साथ एकता र सम्झनाको कार्यक्रमका रूपमा मनाइनेछ।
यसैबीच, आक्रमणपछि घृणात्मक अभिव्यक्ति र बन्दुक स्वामित्वसम्बन्धी कानुन थप कडा बनाउन आवश्यक भएको जनाउँदै प्रधानमन्त्री अल्बानीजले संघीय संसदको गर्मी बिदा दुई साता अगाडि नै अन्त्य गरी जनवरी १९ मा पुनः बोलाइने सोमबार घोषणा गरेका थिए। उक्त बैठकमार्फत सम्बन्धित कानुन पारित गर्ने तयारी सरकारको रहेको छ।
बन्डी बीच आक्रमणमा १५ जनाको ज्यान गएको थियो। आक्रमणकारीको रूपमा नवीद अक्रम र उनका पिता साजिद अक्रमको नाम सार्वजनिक गरिएको छ, जसमा साजिद अक्रम प्रहरी कारबाहीमा मारिएका थिए।
अस्ट्रेलियाली अधिकारीहरूका अनुसार उक्त आक्रमण इस्लामिक स्टेट (आईएस) को विचारधाराबाट प्रेरित भएको थियो। नवीद अक्रममाथि १५ वटा हत्या अभियोग र एक आतंकवादी गतिविधि सञ्चालन गरेको अभियोग लगाइएको छ।





