अमेरिकाका लागि अस्ट्रेलियाली राजदूत केभिन रड समयअघि नै पदबाट बाहिरिने

क्यानबेरा, पुस २९ — अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अमेरिकाका लागि अस्ट्रेलियाली राजदूत केभिन रडले आफ्नो कार्यकाल सकिनु एक वर्षअघि नै पद छाड्ने जानकारी दिएका छन्।

मंगलबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री अल्बानीजले पूर्वप्रधानमन्त्री समेत रहेका रडले वासिङ्टनस्थित राजदूतको जिम्मेवारी आगामी मार्चको अन्त्यसम्म सम्हाल्ने र त्यसपछि पदबाट अलग हुने बताए। रडको चार वर्षे कार्यकाल अझै १२ महिना बाँकी रहँदा उनले राजदूत पद त्याग्ने भएका हुन्।

प्रधानमन्त्री अल्बानीजका अनुसार उक्त निर्णय पूर्ण रूपमा केभिन रड स्वयंले गरेका हुन्। अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी प्रतिष्ठित थिंक ट्याङ्क ‘एशिया सोसाइटी’ को ग्लोबल अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने प्रस्ताव स्वीकार गरेपछि रडले राजदूत पदबाट अलग हुने निर्णय गरेका हुन्।

“हाम्रो राष्ट्रको तर्फबाट, अस्ट्रेलियाका लागि केभिनले दिएको सेवाप्रति हामी धन्यवाद व्यक्त गर्दछौं,” प्रधानमन्त्री अल्बानीजले भने।

केभिन रडले सन २००७ देखि २०१० सम्म र पुनः २०१३ मा अस्ट्रेलियाको प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेका थिए। प्रधानमन्त्री अल्बानीजले उनलाई मार्च २०२३ मा अमेरिकाका लागि अस्ट्रेलियाली राजदूत नियुक्त गरेका थिए।

एशिया सोसाइटीको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नुका साथै रडले उक्त संस्थाअन्तर्गत रहेको ‘सेंटर फर चाइना एनालिसिस’ को नेतृत्व पनि गर्ने जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button