आइस एजेन्टको गोलीबाट अमेरिकी महिलाको मृत्यु

अमेरिकाभर विरोध प्रदर्शन, आप्रवासन नीतिमा चर्किँदो राजनीतिक तनाव

काठमाडौँ — अमेरिकाको मिनियापोलिसमा संघीय आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइस–आईसीई) का एक एजेन्टको गोलीबाट एक अमेरिकी महिलाको मृत्यु भएपछि त्यसको असर देशभर फैलिएको छ। घटनापछि अमेरिकाका दर्जनौँ ठूला सहरमा विरोध प्रदर्शन सुरु भएका छन् भने आप्रवासन कार्यान्वयनका तरिकालाई लिएर जनआक्रोश र राजनीतिक ध्रुवीकरण झन् चर्किएको छ।

गत बुधबार मिनियापोलिसमा संघीय कारबाहीका क्रममा ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुड आइस एजेन्टको गोली लागेर मारिएकी थिइन्। घटनामा संघीय अधिकारी र स्थानीय निकायले फरक–फरक विवरण सार्वजनिक गरेपछि विवाद झन् बढेको छ। पर्यवेक्षकहरूका अनुसार यसले रिपब्लिकन र डेमोक्र्याटबीचको राजनीतिक तनाव थप चर्काउने र आप्रवासन नीतिप्रति बढ्दो जनआक्रोशलाई सतहमा ल्याउने संकेत गरेको छ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएम, राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले आइस एजेन्टको बचाउ गर्दै महिलाले सुरक्षाकर्मीमाथि गाडी चलाउन खोजेको दाबी गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समा लेख्दै महिलाले अधिकारीलाई गाडीले किच्ने प्रयास गरेकाले एजेन्टले आत्मरक्षामा गोली चलाएको बताएका छन्। उपराष्ट्रपति भान्सले पनि सञ्चारमाध्यममाथि घटनाबारे “झूटो विवरण” फैलाएको आरोप लगाएका छन्।

रिपब्लिकन नेताहरूले आइसको कारबाही आवश्यक भएको र एजेन्टहरू उच्च जोखिममा काम गरिरहेको भन्दै थप संघीय समर्थनको माग गरिरहेका छन्। तर डेमोक्र्याट नेताहरूले अत्यधिक बल प्रयोग भएको आरोप लगाउँदै आइसको अधिकार सीमित गर्न, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन्।

मिनियापोलिसका मेयर जेकब फ्रे र मिनेसोटाका गभर्नर टिम वाल्जले आइसलाई शहर र राज्य छाड्न आग्रह गरेका छन्। मेयर फ्रेले आइसको उपस्थितिले अराजकता सिर्जना गरेको भन्दै “यो लापरवाहीपूर्ण शक्ति प्रयोगका कारण एक जनाको ज्यान गएको” टिप्पणी गरेका छन्। डेमोक्र्याट सांसद इल्हान ओमारले पनि पूर्ण छानबिन नगरी संघीय नेताहरूले सार्वजनिक रूपमा निष्कर्ष सुनाउनु अस्वीकार्य भएको बताएकी छन्।

राजनीतिक विवादकै बीच संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले घटनाको सम्पूर्ण नियन्त्रण लिँदै छानबिन थालेको छ। यस कदमले मिनेसोटा राज्यका अधिकारीहरूको प्रमाणमा पहुँच सीमित भएको भन्दै गभर्नर वाल्जले पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएका छन्।

घटनापछि मिनियापोलिससहित न्युयोर्क, वासिङ्टन डीसी, बोस्टन, फिलाडेल्फिया, शिकागो र सियाटलजस्ता सहरमा विरोध प्रदर्शन भएका छन्। मिनियापोलिसस्थित संघीय भवन अगाडि भएको प्रदर्शनमा स्थिति तनावग्रस्त बन्दा प्रहरीले अश्रुग्यास प्रयोग गरेको र केही प्रदर्शनकारी पक्राउ परेका छन्। सडक अवरुद्ध र सानातिना क्षतिसहितका प्रदर्शनमा दर्जनौँलाई नियन्त्रणमा लिइएको छ।

यसैबीच, ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता आप्रवासन नियन्त्रण कडा बनाइएको छ। ह्वाइट हाउसका अनुसार अहिलेसम्म १ लाख ५० हजारभन्दा बढी अवैध आप्रवासी पक्राउ परेका छन् भने १ लाख ३९ हजारभन्दा बढीलाई देश निकाला गरिएको छ। यद्यपि थिंक ट्याङ्क र जनमत सर्वेक्षणहरूले आप्रवासन कार्यान्वयनको शैलीप्रति ठूलो संख्यामा अमेरिकी असन्तुष्ट रहेको देखाएका छन्।

ब्रुकिङ्स इन्स्टिच्युसनका अनुसार धेरै अमेरिकीहरूले प्रक्रिया र कानुनी मर्यादा नमानिएको गुनासो गरेका छन्। मास्क लगाएका एजेन्ट, चिन्ह नखुलेका सवारीसाधन, हिरासत केन्द्रको प्रयोग र अदालतमा अपील गर्ने अधिकार कुण्ठित गरिएको विषयले जनआक्रोश बढाएको विश्लेषण गरिएको छ। प्यु रिसर्च सेन्टरको पछिल्लो सर्वेक्षणअनुसार ५३ प्रतिशत अमेरिकीहरूले निर्वासनमा सरकारले “अत्यधिक” कदम चालेको बताएका छन्।

विश्लेषकहरूका अनुसार मिनियापोलिस घटनाले अमेरिकामा आप्रवासन नीतिको भविष्य, संघीय–स्थानीय सम्बन्ध र नागरिक अधिकारको बहसलाई अझ गहिरो बनाउने संकेत दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button